कोरोना रोकथाम तथा नियन्त्रणमा नागरिक दायित्व नभुलौं

विकल्प न्यूज/बेनी
असोज १२ गते ।

जिल्लाका एक युवा कोरोना परिक्षणका लागि नमुना स्वाव दिएर रिपोर्ट नआउँदै समुदाय सँग घुलमिल गरेको तथ्य बाहिरियो । भारतबाट आएका ति युवाको दुइदिन पछि कोरोना संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका युवा गाउँमा पुगेर न्यूनतम पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएन । गाउँ पुगेका ति युवा साथीभाई सँग खेलखेल्ने र आफन्त भेटघाट गर्ने गरे ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरोकारवालाहरुको बलले मात्र रोकथाम हुँदैन । यसमा नागरिकको पनि दायित्व हुनुपर्दछ । बुधबार जिल्लामा थपिएका ति कोरोना संक्रमित युवाले नागरिक दायित्व भुले । हामीले नागरिक दायित्व भुल्यो भने संक्रमण फैलिन सक्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी निकायहरुबाट मात्र संभव छैन । नागरिकको साथ र सहयोग आवश्यक छ ।
नागरिकले आफ्नो कर्तव्य र दायित्व भुल्दा कोरोना समुदायमा फैलिनसक्छ । बेनी नगरपालिका ३ का ति कोरोना संक्रमित युवा घर पुगे पनि

न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरेको भए समाज र उनीका आफन्तहरु त्रसित हुनुपर्ने अवस्था आउने थिएन । समुदायमा कोरोना फैलिन नदिन नागरिकहरुले पनि आफ्नो कर्तव्यबोध गर्नुपर्ने कोरोना रोकथामका लागि जुटेका सरोकारवालाहरु बताउँछन् ।

सरकारी प्रयासबाट मात्र कोरोना रोकथाम गर्न नसकिने भएकाले नागरिकहरुले पनि स्वास्थ्य मापदण्डहरु व्यवहारिक रुपमा पालना गर्ने हो भने कोरोना संक्रमणबाट समुदायलाई सुरक्षित बनाउन सकिने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।सवै पक्षहरुको सामुहिक नै कोरोना रोकथाम तथा नियन्त्रण गर्न सकिने आधार भएको उहाँले बताउनुभयो ।

कोरोना फैलिएका क्षेत्रहरुबाट फर्किने नागरिकहरुले न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्ने,अनावश्यक रुपमा हिडडुल नगर्ने,भिडभाडमा नजाने,नियमित रुपमा साबुनपानीले हातधुने र संक्रमणको लक्षण देखिएमा तत्कालन स्वास्थ्यकर्मीलाई खबर गर्ने जस्ता कुराहरुमा ध्यान पु¥याउने दायित्व स्वयम नागरिकको भएको निमित्त स्वास्थ्य प्रमुख लम्साल बताउनुहुन्छ ।

संक्रमण फैलिएका क्षेत्रहरुबाट घर फर्किएपछि अनिबार्यरुपमा होम क्वारेन्टाइनमा वस्नु पर्ने दायित्व नागरिकको भएको उहाँले बताउनुभयो ।
जिल्लाका नागरिक र सरोकारवाला पक्षको सामुहिक प्रयासबाट नै म्याग्दीलाई अहिले सम्म सुरक्षित बनाउन सकिएको हो । छिमेकी जिल्लामा समुदायमा कोरोना पुग्दा पनि म्याग्दी सुरक्षित छ ।

बुधवार संक्रमण पुष्टि भएका युवा समुदायमा पुगेको विषयले त्रसित बनाएपनि आत्तिनपर्ने अवस्था नभएको स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो । संक्रमित युवाको सम्पर्कमा रहेका १२ देखि १५ जनाको नमुना स्वाव संकलन गर्नुपर्ने हुनसक्छ लम्सालले भन्नुभयो ‘उनको सम्पर्कमा रहेका सवैलाई होमक्वारेन्टाइनमा राखेका छौं ।

काम गर्दा गर्दै केही त्रुटिहरु भए तर आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ शुक्रबार संक्रमित युवाको घर र छिमेकमा स्वास्थ्यकर्मीहरुको टोली पुगेर सचेत बनाउनुका साथै साबधानी अपनाउन अनुरोध गरेको छ । संक्रमित युवाको सम्पर्कमा आएका व्यक्तिहरुको १२ गते नमुना स्वाव लिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोना पुष्टी भएको बुधबार विहान सार्वजनिक भएसँगै आमा, श्रीमती, दाईभाउजु, बालबच्चा, ससुरा, दिदिबहिनी, भान्जा भान्जी लगायत छिमेकी र सम्पर्कमा रहेका आफन्तलाई होम क्वारेन्टाइनमा राखिएको छ । समुदायमा कोरोना फैलिन नदिन उच्च सर्तकता अपनाइएको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो । उच्च सर्तकता र साबधानी अपनाउने हो भने म्याग्दीलाई कोरोना संक्रमणबाट सुरक्षित राख्न सकिने भएकाले नागरिकहरुले पनि आफ्नो दायित्व निर्वाह र कर्तव्य पालना गर्नुपर्ने देखिन्छ ।