विकल्प न्यूज/बेनी
असोज११गते । म्याग्दी र मुस्ताङको कृषि क्षेत्रको विकासका लागि करिब ९ करोड बजेट प्राप्त भएको छ । संघ र प्रदेश सरकारले दुई जिल्लाको कृषि क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा ९ करोड १७ लाख ७८ हजार रुपैयाँ बजेट पठाएको हो ।
कृषि ज्ञान केन्द्र म्याग्दीले आइतबार आयोजना गरेको वार्षिक कार्यक्रमको सार्वजनिकिकरणमा कृषि प्रसार अधिकृत रमेश पाण्डेले किसानलाई अनुदान वितरण र विभिन्न कार्यक्रममा खर्च गर्ने गरी उक्त बजेट प्राप्त भएको बताउनुभयो ।
कृषि क्षेत्रबाट आत्मनिर्भर बन्न खोज्ने कृषकलाई बाझो जमिनमा व्यवसायिक खेती, फलफूल तथा नगदे बालिको विरुवा नर्सरी, रुैथाने बाली संरक्षण, घरघरमा प्राङ्गारिक मल उत्पादन, कृषि उपज संकलन केन्द्र, साना कृषि फार्म विस्तार, तालिम लगायतको क्षेत्रमा बजेट स्विकृत रहेको अधिकृत पाण्डेले बताउनुभयो ।
गण्डकी प्रेदशबाट ६ करोड ९१ लाख ९६ हजार, संघ सरकारबाट ४ करोड २५ लाख बजेट रहेको छ । चालु आर्थि बर्षमा कुल ११ करोड १७ लाख ७८ हजार रुपैयाँ मध्ये कार्यालय संचालनमा २ करोड बजेट रहेको छ ।
कृषि प्राविधिक जनशक्तिको अभाव भएकाले बजेट कार्यान्वयनमा चुनौती थपिएको उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यालयलाई प्राप्त भएको बजेट तथा कार्यक्रमहरु कार्यान्वयनमा कार्यालय जुटेको कृषि प्रसार अधिकृत पाण्डेले बताउनुभयो ।