चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असोज ४ गते ।
म आफू केटाकेटी हुँदाताका अर्थुङ्गेका भद्र भलादमीहरु हरिदत्त, बलदेव, हरिप्रसाद, श्रुदत्त आदिको हाम्रो घरमा बाक्लो आउजाउ हुन्थ्यो । आफू पनि उनीहरुको घरमा गइन्थ्यो । जिम्माल कान्छो भनेर निकै माया पाइन्थ्यो । १०÷१२ वर्षको उमेरको कुरा हो । एकदिन कुनै काम विशेषले म श्रुदत्त प्रधानपञ्चको घरमा पुगेछु ।
उनी विरामी रहेछन् । घरमा मानिसहरु धेरै थिएनन् । कामको सिलसिलामा गएको हुनाले निकै समय उनको छेउमा बसेँ । उनका कुरा सुने । बज्यै (ठकुरानी थिइन् शायद) ले प्लेटमा भुजा र एउटा माना जाने चरेसको बटुकाभरी चिया दिइन् । भोक लागेको थियो । एक मुठी भुजा मुखमा ठुसेर अल्याबल्याङ्ग चबाएँ ।
टोपी फुकालेर जतनसँग बटुको उचालेँ । मुखको गास चियाले बगाउँछु भनेर एक सुर्कि सुरुप्प ताने । चियामा दूध थिएन । चिनी पनि रहेनछ । तीतो टर्रो लाग्यो । निल्नै मुश्किल भो । नमिठो भो भनेर फ्याक्न मर्यादाले दिएन । खान्न भनेर मुख खोल्न सकिन । के भन्लान् भन्ने डर पनि लागेको थियो कि ? ओखती खाए झै बडो मुस्किलसँग खाइसिध्याएँथे । बाहुनका घरमा आफूले गरेको जुठो भाँडो आफै माझ्नुपर्छ, बाहुनीलाई जुठो भाँडा मझाए पाप लाग्छ भनेर सिकाइएको थियो । चिया पिएको बटुको सफा गर्ने पानी मागेँ । बज्यैले भाँडा माझ्न मरेकाट्टे दिइनन् । मलाई पनि हाइसन्चो लाग्यो । त्यसभन्दा अगाडि कहिल्यै पनि दूध चिनी विनाको फिका चिया मैले पिएकै थिइन । खाँट्टीे चिया पिउने त्यो मेरा पहिलो अनुभव थियो ।
वि.सं. २०१८ सालमा “म्याग्दी” नामको नयाँ जिल्ला जन्मेयता बेनीबजारले जिल्ला सदरमुकामको पगडी निरन्तर पाउँदै आएको छ । कुनै जमानामा ठेगाना लेख्दा “अर्थुङ्गे, बेनी” लेखिन्थ्यो । बेनीबजार अर्थुङ्ग मातहतको बस्ती थियो । समय बदलियो । स्थानविशेषको मान पनि बदलियो । आजकाल “बेनी, अर्थुङ्गे” लेख्नुपर्ने भो ।
गाउँ पञ्चायत हृुँदै अर्थुङ्गे गाउँ विकास समिति हुँदासम्म बेनीबजार त्यसको मुकाम थियो । बेनी नगरपालिका गठन भएपछि अर्थुङ्गेले पुरानो हैसियत गुमायो । नगरपालिकाको छ नंम्बर वडा अन्तर्गतको एउटा सानो गाउँको रुपमा परिचय खृुम्चियो । अर्थुङ्गेको बेनी होइन, अब बेनीको अर्थुङ्गे भयो । स्वामित्व फेरियो । फेरिएको भन्दा पनि साटियो भन्दा उपयुक्त होला । राणाकालीन पञ्चायत विभाजनमा अर्थुङ्गे “पुला ग्राम पञ्चायत” अन्तगर्त पथ्र्यों । अर्थुंङ्गेका हरिप्रसाद ढुङ्गाना पुला ग्राम पञ्चायतका पहिलो सचिव थिए । पञ्चायत व्यवस्था लागु भएपछि अर्थुङ्गेले पहिलो पटक अलग गाउँ पञ्चायतको मान्यता पायो र पहिलो प्रधानपञ्च पनि अर्थुङ्गेकै श्रुदत्त शर्मा चुनिएका थिए ।
अर्थुुङ्गेसँग जोडिएको अर्को एउटा तीतो र अविष्मरणीय घटना छ । अर्थुङ्गे टाँठाबाठा बसेको गाउँ । केही नयाँ कुरा काली तरेर आयो भने पहिले अर्थुङ्गेमै आउँथ्यो । त्यो जमानामा अर्थुङ्गेमा मात्रै होइन, हाम्रो गाउँमा पनि स्कूल खुलिसकेको थिएन शायद । दिन मारेर खेतबारीमा परिश्रम गर्ने उमेर नहुँदासम्म सबै केटाकेटीका दिन गाई, भैसी, बाख्रा चराएरै बित्थे । एकदिन सिम बाँझोमा गाईभैसी हेर्न जम्मा भएका केटाकेटीहरु बटुलेर गाउँका अगुवाहरुले अर्थुङ्गे लिएर आए । देउराली मन्दिरमा मेला लागेजस्तै थियो ।
भिरमुनीतिरबाट मात्रै २०÷२५ जना केटाकेटीहरु ल्याइएका थिए । हाम्रो टोली आइपुगेपछि “लौ यिनीहरुलाई पहिलो पालो दिने” भनियो । पालो के को रहेछ भनेको त इन्जेक्सन लगाउने पो रहेछ । पहिलोचोटी म्याग्दीमा बिसीजी इनजेक्सन आउँदाको कुरा हो । पहिले घोचिमाग्ने पालो मेरै प¥यो । डराई डराई स्वास्थ्यकर्मीको छेउमा पुगेँ । पुगेको के भन्नु ? कसैले पाखुरा समातेर डो¥याएर लग्यो । सुई घोच्दा चस्स दुःख्यो । आँसु खसालेर रोई दिएँ । मेरो रुवाई दूःखाइको कारणले थियो कि डरका कारणले थियो कुन्नी ?
म्याग्दीको जिल्ला सदरमुकाम बेनीबजार । बेनीसँगै जोडिएको अर्को गाउँ अर्थुङ्गे । भौगोलिक बनावट सजिलो भैदिएका भए बेनी र अर्थुङ्गे आपसमा जोडिन्थे र एउटै बजार बन्थ्यो होला । काँठ सधै पिछडिन्छ भनिन्छ । बेनीबजारको काँठ हो अर्थुङ्गे । हुन पनि टाँठोबाठो बाहुन समाज रहेको अर्थुङ्गे लामो समयसम्म बत्ती मुनिको अँध्यारो भन्ने लोकोक्तिलाई सार्थक बनाउने ठाउँ थियो भन्दा फरक पर्दैन ।
अर्थुङ्गेमा निकै ढिलोगरी स्कूल खुलेको हो । विद्यालय स्थापनामा पीछडिए पनि म्याग्दी जिल्लाकै पहिलो दर्ता भएको पुस्तकालय भने अर्थुङ्गकै हो । त्यसको अर्थ गाउँ पिछडिएको भए पनि गाउँलेहरु टाँठाबाठा थिए । शिक्षाको महत्व बुझेका थिए । त्यसैले बेलैमा पुस्तकालय खोल्नुपर्ने चेत पलाएको थियो । जिल्लालाई पहिलो सर्वोच्चको न्यायाधीश दिने गाउँ पनि अर्थुङ्गे नै हो । सर्वोच्चको न्यायाधीशको पदमा उनै हरिदत्त शर्मा बाहेक अर्को कोही म्याग्दीबासी आजसम्म पुग्न सकेको छैन ।
गाउँको नाउँ निकै अनौठो छ । मलाई त्यस्तै लाग्छ । मेरा गाउँलेहरुले अझै पनि अर्थएँ वा अथ्र्यां भन्छन् । साँचै त्यो गाउँको नाम अर्थुङ्गे हो कि अथ्र्याँ हो अथवा अर्थएँ हो ? लेखाईमा जे जे लेखिए पनि जनजिब्रोमा भने अर्थएँ गढेको छ । उच्चारण गर्न कठिन पर्ने त्यति अप्ठेरो नाम किन रह्यो होला ? त्यो नाम कसले किन राख्यो होला ? त्यसको अर्थ के होला भन्ने मेरो बाल जिज्ञासाको सन्दर्भमा मेरा पिताजीले सुनाउनुको भएको लोककथन यस्तो थियोः
पौराणिक कालमा पक्षैमा पुलस्त्य पुलहको निवास थियो । पुलस्त्यपुत्र विश्रवाले आफ्ना ससाना छोराछोरीहरुलाई बाजे पुलस्त्यको जिम्मा लगाएर तपस्या गर्न कैलास पर्वततिर लागेछन् । रावण, कुम्भकर्ण, विभिषण, सुर्पणखाँहरु बाजेसँग पुलामै बस्न थालेछन् । रावण असाध्य चकचके थियो रे ।
बाजेहरुलाई सताएर हैरान पाथ्र्यों रे । एकदिन पुलस्त्यले पुज्ने गरेको सालग्राम शिला उठाएर बाँदरलाई हान्छु भन्दा तल ढाँडतिर पु¥याइदिएछ रे । देवता हराएपछि रिसाएका पुलस्त्यले आफ्ना शिष्यहरुलाई “यो बदमासलाई अर्केा कुनै ठाउँमा लगेर राखिदेउ” भनेर अराएछन् । गुरुआज्ञा शिरोपर गरेर चेलाहरुले रावणसहित भाइबहिनीहरु सबैलाई “अर्थुङ्गे” मा झारिदिएछन् ।
त्यही रावणलाई ठाम सारेको “अर्को ठाउँ” भन्दै सुन्दै जाँदा “अर्थुुङ्गे” हुन गएछ रे । अर्थुङ्गेमा “राउन्नेको गरो” भनिने एउटा ठूलै बारीको पाटो पनि भएको हुनाले बाबाले सुनाएको कथा साँचै होला भनियो । पढ्दै, लेख्दै. गुन्दै, बुझ्दै जाँदा दन्त्य कथा र किमवदन्तिहरु पत्याउन छोडियो । मान्छेको शरीरमध्ये टाउको सबभन्दा गरुङ्गो हुन्छ भनिन्छ । दश दशवटा टाउका लिएर रावण घुमफिर गथ्र्यो, लड्थ्यो भिड्थ्यो भनेर पत्याउने कुरै भएन ।
रामका आमाहरुले खिर खानाले रामसहित चारै भाइको जन्म भएको हो भन्ने अप्राकृतिक कुरा पत्याउने कुरा पनि भएन । चलाइएको हल्ला र सदियौं देखि चलेका लोक कथनहरुको सत्यतामा मनले प्रश्न उठाउन थाल्यो । अर्थात राम कथा एउटा काल्पनिक कथन हो भन्ने बुझेपछि रावणसँग जोडिएका बाबाले सुनाएको कथाप्रतिको विश्वास पनि उठ्यो ।
म जन्मे हुर्केको गाउँको नाम “भिरमुनी” हो । गाउँको शिरानतिर अग्लो भीर छ । भीरको काखमा बसेको बस्तीलाई तलमाथि, वरपरका मानिसले भिरमुनी नाम दिनु स्वाभाविक भयो । अर्थुङ्गे भन्ने नाम रावणका कारणबाट रहेको होइन भने अर्को कारण के हो भन्ने कुराले सधैं चिमोटी रहन्थ्यो । अर्थुङ्गे खसबाहुनको बस्ती हो । स्थानीय खसबोलीमा अर्थुङ्गेको कुनै अर्थ लाग्दैन ।
अर्थुङ्गेमा “भ्वानी पुन्ने” भन्ने टोल पनि छ । “भ्वानी पुन्या” झर्रो खस बोली हो । कतै अर्थुङ्गे पनि झर्रो खसबोलीको शब्द होला कि, त्यसको पनि कुनै अर्थ छ होला कि भनेर सुदूर पश्चिम र कर्णाली भेकका सम्पर्कमा रहेका साथीहरुसँग सोधखोज गरियो । अर्थुङ्गे, अर्थएँ, अरथ्याँ वा त्यो सँग मिल्दो जुल्दो कुनै शब्द खसानक्षेत्रमा बोलीचालीमा प्रयोग हुने गरेको फेला परेन ।
बरु पुर्वेली साहित्यकार उपेन्द्र सुब्बाका कथाहरु पढ्दै जाँदा एक ठाउँमा “अर्थुङ्गे” भन्ने शब्द प्रयोग भएको देखियो । हो न हो अर्थुङ्गे भन्ने शब्द लिम्बु भाषाको पो रहेछ कि भन्ने लाग्यो । लिम्वु भाषाको शब्द खस समाजले कसरी प्रयोग गरे होला भन्ने पनि लाग्यो । जे भए पनि वास्तविकता खोज्नुपर्छ भन्ने लागेकोले सम्पर्कमा भएका लिम्बु मित्रहरुसँग शब्दको परिभाषा गरिदिन अनुरोध गरेँ ।
उताबाट अर्थुङ्गे भनेको अर्थुङ्गे नै हो त्यसको अर्को नाम थाहा छैन भन्ने अधुरो जानकारी आयो । ओखलढुङ्गे भाइ बम बानियाँलाई राई भाषामा कतै कुनै अर्थ भेटिन्छ कि भनेर सोधीखोजी गर्न लगाएँ । उनले अर्थृुङ्गेको बारेमा आफूले जाने बुझेको कुराको नालीबेली सुनाए । वास्तवमा अर्थुङ्गे भनेको एउटा चिरपरिचित वनस्पति पो रहेछ !
मेरा परम मित्र सोभित खड्काले एउटा ठूलो किताब उपहार दिनु भएको थियो । योगी धर्ममहारस नामका विद्वानले लेखेको “आयुर्वेदिक जडीबुटी विज्ञान” नामको उक्त पुस्तक पल्टाएर हेर्दा अर्थुुङ्गेको परिभाषा फेला प¥यो । वैज्ञानिक नाम “हेटेरोपोगन कन्र्टटस” नाम रहेको उक्त वनस्पति खरघाँस प्रजातिको रहेछ । रातो डाँट भएको घाँसमा कालो फल लाग्दो रहेछ । जरा गुलियो हुँदो रहेछ । फलको पिठो निकालेर औषधीय प्रयोग गरिँदो रहेछ ।
त्यो खर घाँस हाम्रै पाखापखेरामा प्रशस्त उम्रदो रहेछ । घाँस बनाइदो रहेछ । खरसँग मिसाएर घर गोठ छाइदोरहेछ । त्यसको फललाई “कुरो” वा “दौसो” भनिदो रहेछ । सुकेको कुरो वा दौसोलाई एक तुर्की पानीमा राखिदिने हो भने घडीको सुईझैं घुम्न थाल्छ ।
ज्युँदो किरो पो हो कि भनेजस्तो लाग्छ । खरबारीमा गयो भने कपडामा टाँसिएर आउँछ । सुख्खा जातको घाँस भए पनि त्यसको सेवनले गाई भैंसीको दूध बढाउँछ भनेर मानिन्छ । खेत, बारीका कान्ला र खरबारीतिर जताततै पाइने सानो छँदा पिर्रेजस्तै देखिने त्यही चिरपरिचित खर पो रहेछ “अर्थुङ्गे” ! घाँस खरको रुपमा प्रयोग गर्दै आइएको “दौसे खर” पो रहेछ त्यो त !
हाम्रो अर्थुङ्गे नेपाने ठाउँ हो । पानी नभएको सुख्खा ठाउँ भएकोले बस्ती पनि निकै कान्छो होला । जमिन आवाद हुनुपूर्व खर्बारी हुँदो हो । खरमध्ये पनि अर्थुङ्गे जातको खर अत्यधिक उम्रदो हो । त्यसले खरबारीको नाम नै “अर्थुङ्गे” रहन गयो होला । कुरो त्यति सरल रहेछ । तर मेरो दिमागलाई भने त्यही नामले २०÷२५ बर्ष भन्दा बढी समयसम्म फनफनी घुमाइदियो । नवविकल्पमा प्रकाशित