दुईजना कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर, भदौ १२ गते । संकेतिक तस्विर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः कोरोना संक्रमित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा दमक नगरपालिका–३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका–५ निवासी ५६ वर्षीया महिला हुनुहुन्छ ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापा दमकका पुरुषको शुक्रबार बिहान ३ः४५ बजे र बेलबारी निवासी महिलाको ३ः१४ बजे मृत्यु भएको हो । खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि बी एण्ड सी टिचिङ अस्पतालमा भर्ना हुनु भएका दमकका पुरुषमा भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि वीपीमा ३ गतेनै भर्ना गरिएको थियो । मृगौलाको दीर्घ रोगी पुरुषमा उच्च रक्तचाप, मधुमेह र अल्प रक्त कोशीकाको समस्या समेत रहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी मोरङ बेलबारी–५ की महिला कोशी अस्पताल विराटनगरबाट धरानस्थित वीपीमा ९ गते रिफर गरिएको थियो । श्वास फेर्न समस्या र ज्वरो आएपछि कोशीमा भर्ना हुनु भएकी उहाँमा कोरोना संक्रमण समेत भदौ ९ गते नै पुष्टि थियो ।

वीपीमा उपचारतः दुवै जनाको शुक्रबार बिहान निधन भएपछि शव व्यवस्थापनको काम नियमानुसार अगाडी बढेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या २६ पुगेको छ । त्यसमध्ये पाँच महिला १५ जना पुरुष गरि २० जना प्रदेश १ वासी र एक महिला ५ पुरुष प्रदेश २ का हुनुहुन्छ । gorkhapatraonline