बेनीको कोरोना खर्च ः क्वारेन्टाइन खाना र स्वास्थ्य सामान खरिदमा २९ लाख खर्च

विकल्प न्यूज/बेनी
भदौं १० गते ।

बेनी नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण अनुसार क्वारेन्टाइन खाना खर्च र स्वास्थ्य सामाग्री खरिदमा ठूलो रकम खर्च भएको देखाएको छ । खाना र स्वास्थ्य सामाग्री खरिदमा गत असार मसान्त सम्म २९ लाख २४ हजार सातसय ६१ रुपैयाँ खर्च भएको छ ।

सार्वजनिक गरेको विवरणमा क्वारेन्टाइन खाना खर्च मात्र १३ लाख ५८ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको छ । विदेश तथा स्वदेशबाट म्याग्दी आई क्वारेन्टाइनमा वसेका बेनी नगरपालिका क्षेत्र भित्रका व्यक्तिहरुलाई खाना खुबाए वापत उक्त रकम खर्च भएको हो ।

बेनी नगरपालिकाले गत सोमबार पत्रकार भेटघाट कार्यक्रम गरेर खर्च विवरण सार्वजनिक गरेको थियो । यस्तै कोरोना सँग सम्बन्धित विभिन्न स्वास्थ्य सामानहरु खरिद गर्दा १५ लाख ६५ हजार ९ सय ६३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ ।

यी माथिका दुवै शिर्षकहरुमा भएको खर्चको पुरा विवरण भने उपलब्ध गराइएको थिएन । क्वारेन्टाइनमा बेनी नगरका कति जना बसे र कतिले खाना खाए भन्ने कुनै विवरण पनि खुलाइएको छैन । त्यस्तै मास्क,स्यानीटाइजर र अन्य स्वास्थ्य सामाग्री खरिदमा पनि ठूलो रकम खर्च गरिएको छ । माथिका दुवै शिर्षकमा गरिएका खर्च हेर्दा अस्वाभाविक जस्तो देखिन्छ । कतिपय स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप विभिन्न संघसंस्थाहरुबाट बेनी नगरलाई प्राप्त थिए ।

नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले कोषमा एक करोड ३७ लाख तीस हजार ३७३ रुपैयाँ आम्दानी, ८१ लाख ३३ हजार ११२ रुपैयाँ खर्च र ५५ लाख ९७ हजार २६१ रुपैयाँ खर्च भएको पत्रकार भेटघाटका क्रममा जानकारी दिनुभएको थियो ।

एक हजार ३८२ परिवारलाई राहत वितरणमा २९ लाख ४४ हजार ६१७, दश वटै वडामा पाँच पाँच जनाका दरले परिचालन भएका स्वमसेवकलाई खाना तथा खाजाका लागि दैनिक पाँच सय रुपैयाँका दरले दुई लाख ७१ हजार ६०० रुपैयाँ खर्च भएको छ ।

यसैगरी भारतबाट सिमा नाकामा आएका र विदेशबाट काठमाडौको होल्डीङ सेन्टरमा आएका १६७ जनालाई बेनी ल्याउन यातायात भाडा वापत तीन लाख पाँच हजार ३४९, शैक्षिक तालिम केन्द्रको भवनमा दश सैयाको आइसुलेशन बनाउन १७ लाख ८३ हजार रुपैयाँ खर्च भएको प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।

कोरोना कोषमा नगरपालिकाले एक करोड छ लाख पाँच हजार जम्मा गरेको थियो । बेनी खानेपानी उपभोक्ता संस्थाले एक लाख, प्रदेश सरकारले दश लाख, अर्थ मन्त्रालयले दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुले १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुले दुई लाख २९ हजार ८६१, कर्मचारीहरुले एक लाख ६९ हजार १५५ रुपैयाँ सहयोग गरेका छन् ।

कोरोना व्यवस्थापन तथा नियन्त्रणका क्रममा भएको खर्च विवरण सार्वजनिक गर्न दवाव सिर्जना भएपछि नगरले सो विवरण सार्वजनिक गरेको हो ।

नवआगन्तु प्रजिअ उमाकान्त अधिकारी म्याग्दीको ४ दिनका दिन आयोजना गरिएको सर्वपक्षिय भेलामा कोरोना व्यवस्थापनमा भएको खर्च सार्वजनिक गर्नुपर्ने विषय उठान भएको थियो ।