पहुँच र शक्तिका भरमा म्याग्दी भित्रिनेबाट कोरोना फैलिने जोखिम

विकल्प न्यूज/बेनी
भदौं ९ गते ।
छिमेकी जिल्ला बागलुङमा कोरोना समुदायमा फैलिसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखरासँग सीमाना जोडिएको पर्वत उच्च जोखिममा छ । प्रदेश राजधानी पोखरामा कोरोना समुदायमा भूसको आगो झै सल्कीरहेको छ । काठमाण्डौंमा कोरोनाको स्थिति भयाभह हुँदै छ । दैनिक रुपमा काठमाण्डौंका अस्पतालहरुमा कोरोना संक्रमितको ज्यान जान थालेको छ भने यसै गरी संक्रमितको संख्याले आइसोलेशन भरिएका छन् । पोखरा,काठमाण्डौ र तराईका केही क्षेत्रहरु म्याग्दीको सम्पर्कमा हुन्छन् । विभिन्न बहानामा ति स्थानहरुबाट मानिसहरुको आवतजावत हुन्छ ।

विरगञ्ज,चितवन लगायतका व्यापारिक क्षेत्रहरुसँग म्याग्दीको व्यवसायिक सम्बन्ध छ । कोरोना फैलिएका क्षेत्रहरुबाट जिल्लामा भित्रिने क्रम रोकीएको छैन । पहुँचवाला व्यक्तिहरुबाट नियमको उल्ङ्घन हुने गरेका थुप्रै उदाहरणहरु छन् । जनप्रतिनिधिहरु,कर्मचारी,सुरक्षाकर्मी र राजनीतिक पहुँचका आधारमा आवतजावत गर्ने व्यक्तिहरुबाट कोरोना जिल्लामा भित्रिन सक्ने जोखिम बढेको छ । पहुँचवालाहरुको आवजावतलाई रोक्न चुनौती छ ।

अहिले सम्म विदेशबाट जिल्ला फर्किएकामा मात्र कोरोना संक्रमण छ । व्यवस्थित क्वारेन्टाइन सञ्चालन,आइसोलेशन र जिल्ला प्रवेश गर्न कडाई गरिएका कारण समुदायमा कोरोना फैलिन नपाएको हो । तर सरुवा भएर जिल्ला आउने कर्मचारी,सुरक्षाकर्मी लगायतका व्यक्तिहरुबाट भने कोरोना समुदायमा फैलिन सक्ने संभावना छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीको कोरोना फैलिएका जिल्लाहरुमा आउँजाउ छ ।

उनीहरु सरकारी गाडीको प्रयोग गरेर निर्वाध रुपमा जिल्लाबाहिर जाने र भित्रिने गर्दछन् । यस्तै जनप्रतिनिधिहरु पनि सरकारी गाडीको प्रयोग गरेर कोरोना फैलिएका क्षेत्रहरुमा आउँजाउँ गर्दछन् । उनीहरुलाई कुनै रोकावाट छैन । उनीहरु जिल्ला फर्किएपछि नत क्वारेन्टाइन बस्छन् नत स्वास्थ्य नियमहरु पालना गर्दछन् । सरकारी उच्च अधिकारीहरुबाटै नियमको उल्ङ्घन भएका छन् । अन्तर जिल्ला आवागमनले कोरोनाको जोखिम निम्तीन सक्ने देखिन्छ ।

कोरोना फैलिन नदिन जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले कालिपुल बाहेक सवै नाकाहरु सिल गरेको छ । नाका सिल गरेपनि लुकीछिपी भित्रिने क्रम रोकीएको छैन । कालिपुल स्थित नाकामा चेकजाँचलाई कडाई गरिएता पनि चोरबाटो प्रयोग गरेर जिल्लामा भित्रिने गरेको पाइएको छ ।

पहुँचका आधामा र चोरबाटो प्रयोग गरेर जिल्लामा भित्रिनेहरुबाट कोरोनाको जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् । कोरोना संक्रमित फैलिएका जिल्लाहरुबाट आउने सर्वसाधरणहरुलाई नियमन र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सकिएन भने कोरोना समुदायमा फैलिन सक्ने खतरा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुहुन्छ ।

सावधानी र सर्तकता अपनाउन चुक्यौं भने कोरोना नियन्त्रण तथा रोकथामका लागि अहिले सम्म गरिएका प्रयासहरु खेरजानेसक्ने उहाँले बताउनुभयो । अहिले सम्म म्याग्दीको समुदाय सुरक्षित छ किन भने हामीले समुदाय स्तरमा पुगेर गरिएको नमुना स्वाव संकलनको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यसका आधारमा पनि हामीले जिल्लालाई अहिले सम्म सुरक्षित छ भनेका छौं उहाँले भन्नुभयो । अहिलेकै अवस्थालाई कतिसमय सम्मराख्न सक्छौं त्यो भने चुनौती रहेको उहाँले बताउनुभयो । अन्तर जिल्ला आवागमनलाई कडाई नगरिए म्याग्दी कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

कोरोना फैलिन नदिन जिल्ला कोराना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिकाका कारण कोरोना समुदायमा फैलिन पाएको छैन । समुदायमा कोरोना फैलिन नदिन अन्तर जिल्ला प्रवेशलाई कडाई गर्ने भनिएपनि व्यवहारिक कार्यन्वनयको चुनौती देखिएको छ । पोखराबाट म्याग्दीमा सरुवा भएर आएका सुरक्षाकर्मीमा कोरोना देखिएपछि थप सावधानी र सर्तकता अपनाउनुपर्ने देखिन्छ ।

आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जोखिम उच्च छ ः प्रजिअ

अन्तरजिल्ला आवागमनलाई पूर्णरुपमा रोक्न नसक्दा जिल्लामा कोरोनाको जोखिम बढेको छ । अन्तरजिल्ला आवागमन बढ्दै जाने हो भने भोलीका दिनहरुमा कोरोना फैलिन सक्ने चुनौती बढेको छ ।

जिल्लाभित्र आर्थिक,सामाजिक र विकास गतिविधिहरु पनि सञ्चालन गर्ने र आवजावतलाई पनि रोक्ने विरोधाभाषपूर्ण निर्णयले कोरोनाको जोखिम बढेका हो । अन्तर जिल्ला आवागमनलाई अव पनि पूर्णरुपमा रोक्न नसके कोरोनाको जोखिम बढेर जानसक्छ । अहिलेको अवस्थालाई हेर्दा कोरोना समुदायमा फैलिन सक्ने गम्भिर अवस्थामा पुगेको छ । त्यसैले अहिलेसम्म भएको अन्तरजिल्ला आवागमनलाई कडाई गर्न खोजिएको हो । जो निर्वाधरुपमा सञ्चालन थियो ।

अन्तरजिल्ला आवागमनले नै जोखिम र चुनौती बढाएको छ । हामीले विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्ने गरेका छौं । तर स्वदेशको आवागमनका हकमा अहिले सम्म केही प्रबन्ध भएको थिएन । त्यसैले बाहिरी जिल्लाबाट आउनेहरुको हकमा कालिपुलमा चेकजाँच गरेर उनीहरुको पुरा विवरण भरेर मात्र छाड्ने कामको थालनी गरेका छौं ।

कोरोना फैलिएका क्षेत्रहरुबाट आउनेहरुलाई अनिबार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनेको छौं । त्यही अनुसारको कागज गरेर पठाउने व्यवस्था मिलाएका छौं । पहिलो चरणलाई यहि व्यवस्था हो । कोरोनाको अवस्थालाई हेरेर दोस्रो चरणमा के गर्ने भन्ने निर्णयमा पुग्छौं । हिजो निर्वाध आवतजावत थियो यसलाई हामीले सुधार गरेका छौं तर यो नै कोरोना रोकथामका लागि प्रर्याप्त होइन । भोली कन्ट्रयाक ट्रेसिङमा सहज होस भनेर अहिलेका प्रक्रियाहरु गरेका हौं ।

अन्तर जिल्ला आवागमनका सम्बन्धमा मन्त्रीपरिषदको वैठकले विशेष निर्णयहरु गरेको छ त्यही आधार हामीले लिएका छौं । मन्त्रीपरिषदले क्वारेन्टाइनको व्यवस्था र सञ्चालन स्थानीय तहले गर्ने । क्वारेन्टाइनमा वसेका व्यक्तिहरुको पाँचदिन पछि पिसिआर गर्ने व्यवस्था स्वास्थ्य कार्यालयले मिलाउने र रिपोर्ट नेगेटिभ आएको सातदिन पछि मात्र घर पठाउने व्यवस्था मिलाउनु पर्दछ ।

विदेशबाट आएका हकमा बेनीमा क्वारेन्टाइनको प्रबन्ध भएको छ । काठमाण्डौ चितवन लगायतका क्षेत्रहरुबाट आएकाहरुको हकमा अहिले सम्म क्वारेन्टाइनको व्यवस्था छैन । स्थानीय तहले जोखिम क्षेत्रबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । कालिपुलको नाकाबाट प्रवेश गर्नेहरुलाई होल्डीङ सेन्टरमा राखेर व्यक्तिको विवरण भरी पठाउने गरेका छौं ।

मन्त्री परिषदको वैठकले अन्तर जिल्ला आवागमनलाई कडाईका साथ नियन्त्रण गर्ने भनेको छ । यसका वावजुद पनि अत्यवश्यक काम परेर आउनेहरुको हकमा स्थानीय तहहरुले बनाएको क्वारेन्टाइनमा वस्नुपर्ने नियम छ । पिसिआर गरेर आएका हकमा त्यो लागू हुँदैन । अन्तरजिल्ला प्रवेश गर्ने सर्वसाधरण देखि कर्मचारी,सुरक्षाकर्मी लगायत सवैमा यहि नियम लागू हुन्छ । कुनै पनि बहानामा कसैसँग यो विषयमा सम्झौता हुँदैन । नियमलाई कडाई गर्न सकियो भने मात्र जिल्लालाई हामीले सुरक्षित राख्न सक्छौं ।

कर्मचारीको ओहोरदोहोर लाई नियन्त्रण गर्न कार्यालय प्रमुखहरुलाई भनेका छौं । भदौं पाँचगतेको कार्यालय प्रमुखको वैठकमा बाहिर जिल्ला घर भएकाहरुलाई तत्काल आवतजावत नगर्न निर्देशन दिएका छौं । कार्यालय प्रमुखले त्यस्ता कर्मचारीहरुको विवरण राख्ने र जिल्लामा पठाउने व्यवस्था मिलाएका छौं । कोरोना फैलिएका क्षेत्रहरुबाट आएकाहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा वस्न भनेका छौं । कम्तीमा पनि सातदिन वाहिरी व्यक्तिको सम्पर्कमा नजान सुझाएका छौं । कुराकानीका आधारमा तयार पारिएको हो ।