प्रजिअ स्वागत थाप्दै हिड्ने,कालिपुलमा सर्वसाधरणलाई सास्ती दिने !

विकल्प न्यूज/बेनी
भदौं ३ गते । हालै मात्र काठमाण्डौंबाट सरुवा भएर म्याग्दी आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई यतिखेर विभिन्न संघसंस्थाहरुको स्वागत थाप्न भ्याईनभ्याई छ । स्वागतका लागि कहिले प्रजिअ कार्यालयमा त कहिले संघसंस्थाको कार्यालयमा नवआगन्तुक प्रजिअलाई स्वागत गर्नेहरुको ठूलै भिड देखिन्छ ।

कोरोनाको महामारी सुरु भएको काठमाण्डौंबाट आउनुभएका प्रजिअ होम क्वारेन्टाइनमा वस्नुपर्ने कि नपर्ने सर्वसाधरणहरुले यतिखेर प्रश्न गरेका छन् । भिड जम्मा पारेर स्वागत थाप्दै हिड्नु कत्तिको उपयुक्त हो ?
तर यता कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने नाममा गरिएको अव्यवहारिक निर्णयले कालिपुल स्थित सीमानाकामा सर्वसाधरणहरुले सास्ती खेप्नुपरेको छ ।

मंगलबार राती देखि म्याग्दी प्रवेश गर्ने नाकाहरुलाई कडाई गर्ने निर्णय भएसँगै बुधबार विहान कालिपुलमा सुरक्षाकर्मीहरु खटाइएको थियो । प्रवेशलाई कडाई गरिएको थियो । कोरोना रोकथामका लागि गरिएका कार्य र निर्णय स्वागत योग्य छन् तर पर्वत जलजलाका सर्वसाधरणहरुलाई बेनी प्रवेश गर्न रोक्नु कत्तिको जायज होला ?

फरक जिल्ला भएपनि पर्वतको जलजला गाउपालिकाका बासिन्दाको म्याग्दी बेनीसँगको सामाजिक, ब्यापारिक, प्रशासनिक र भौगोलिक निकटता तथा ब्यवहारिक पक्षलाई नजर अन्दाज गरेर सिमानामा गरिएको अन्तर जिल्लाको आवत जावतको कडाइले बुधबार सर्वसाधरणहरुले सास्ती खेपे । दुःख पाए । बृद्धबृद्धाहरुलाई चर्को घाममा पुलमाथि उभ्याइयो के यो व्यवहारिक हो ? अत्यावश्यक कामको लागि म्याग्दी जिल्ला प्रवेश गर्नुपरेमा बिहान ७ देखि साँझ ७ बजेसम्म कालीपुलबाट अनुमति लिएर मात्र प्रवेश गर्न र म्याग्दी प्रवेश गरेपछि तोकिएको होल्डिंग सेन्टरमा बस्न, फारम भर्न, आवश्यक परामर्श लिई स्थानीय तहको जिम्मेवारीमा होम क्वारेन्टाइनमा बस्न लगाइने जिल्ला संकट ब्यवस्थापन केन्द्रले निर्णयले मल्लाज र वारीबेनी आवत जावत गर्नेहरुलाई सास्ति भएको हो ।

म्याग्दी बेनी घर भई पर्वत बेनीमा व्यवसाय गर्नुहुने हरि भण्डारीले नयाँ निर्णयसँगै आवत जावतमा दुख भएकाले यसलाई सच्चाउनुपर्ने बताउनुभयो । यसअघि पर्वतको प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर पर्वत बेनीको डाडामा चेकपोष्ट राखेमा जिल्लालाई सुरक्षित पनि राख्न सकिने र सर्वसाधारणलाई पनि सास्ति नहुने बताउनुभयो ।

मल्लाज र पर्वत बेनीका बासिन्दा, ब्यवसायी, कृषक, कर्मचारीहरुका लागि परिचयपत्र अथवा अन्य काजगातका आधारमा आवत जावत गर्न दिनुपर्ने विकल्प पनि छ । बेजिल्ला भएपनि जलजला गाउपालिकाको वडा न. १, २, ३, ४, ५, ६ र ७ मा पर्ने बाँसखर्क, मल्लाज, लेकफाँट, शालीजा र धाइरीङका बासिन्दा दैनिक उपभोग्य सामानको किनमेल, बैंक वित्तिय कारोबार, औषधी उपचारका लागि म्याग्दीको बेनीमा निर्भर छन् ।

म्याग्दी बेनीमा दूध, तरकारी, फलफुल लगायत कृषि तथा पशुजन्य बस्तुको आयात जलजला गाउपालिकाबाट हुन्छ । जलजलाका बासिन्दा बिरामी पर्दा उपचारका लागि म्याग्दीमा रहेको बेनी अस्पतालमा जान्छन् । म्याग्दीका ब्यापारीको गोदाम पर्वत बेनीमा छन् । पर्वत बेनीका ब्यापारीको बजार म्याग्दीमा पनि छ ।

म्याग्दी बेनीका कार्यालय, सुरक्षा निकाय र स्वास्थ्य संस्थामा काम गर्ने, पसल सञ्चालन गर्नेहरुको डेरा पर्वत बेनीमा छ । स्थानीयबासीहरुको सहजताका लागि पर्वत प्रशासन, प्रहरी र गाउपालिकासंग समन्वय गरेर वारीबेनी र पारीबेनीको आवत जावतलाई यसअघिको लकडाउनको अवस्थामा खुकुलो बनाइएको थियो ।

पर्वत बेनी र मल्लाज क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामका लागि म्याग्दी बेनीमा हुने आवत जावतलाई सहज बनाउन सकारात्मक रहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले बताउनुभयो ।