म्याग्दी प्रवेश गर्ने कालिपुल बाहेक सवै नाका सिल गर्ने तयारी

विकल्प न्यूज/बेनी
भदौं २ गते । म्याग्दीमा कोरोना भाइरस संक्रमणलाई रोक्न जिल्ला प्रवेश गर्ने नाकाहरु मंंगलबार(आज) राती देखि सिल गर्ने तयारी गरिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा समुदायमा कोरोना फैलिएकाले म्याग्दीमा पनि जोखिम बढ्न सक्नै भन्दै प्रशासनले सीमानाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

जिल्लामा प्रवेश गर्न कालिपुल स्थित नाकाको मात्र प्रयोग गर्न पाइने छ । अन्य नाकाहरुको प्रवेशलाई रोक लगाइएको हो । कालिपुल स्थित नाकालाई पनि बेलुका ७ देखि विहान ७ बजे सम्म पूर्णरुपमा सिल गरिने छ । कालिपुल बाहेक अन्य स्थानबाट गर्ने प्रवेशलाई पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र(डिसिसिसिएम) को बैठकले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर सर्वसाधरणहरुको आवतजावतलाई व्यवस्थीत गर्न उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिनुभयो । मंगलबार दिउसो वस्ने सर्वपक्षिय बैठकमा प्राप्त सुझावका आधारमा थप निर्णय हुने उहाँले बताउनुभयो ।