पार्टी भित्रको विवाद मिलाउन गठित कार्यदललाई अनुमोदन गर्न नेकपाको सचिवालय वैठक

विकल्प न्यूज/काठमाण्डौं
भदौ १ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक करिब एक महिनापछि आज बसेको छ । गत साउन ३ गते बसेको सचिवालय बैठक आज सोमबार पुनः बसेको हो । आजको बैठकले पार्टीको विधि प्रक्रिया, पद्धति तथा गत शुक्रबार गठन गरेको ६ सदस्यीय कार्यदल अनुमोदन गर्ने नेताहरुले बताउनुभएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी सहमतिमा पार्टीको आन्तरिक विवाद सल्टाउने गरी कार्यदल गठन गर्ने सहमति गर्नुभएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सचिवालय बैठक शुरुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीको विधि पद्धति तथा प्रक्रियाका बारेमा आवश्यक छलफल हुने वरिष्ठ नेता खनालले बताउनुभयो ।

गठन भएको कार्यदललाई पनि विधिसम्मत रुपमा अनुमोदन गरिने उहाँले जानकारी दिनुभयो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा ‘प्रभाकर’ र पम्फा भुषाल सदस्य हुनुहुन्छ । नेकपा सचिवालयमा अध्यक्षद्वय ओली र दाहाल, नेताहरु नेपाल, खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य हुनुहुन्छ ।