गलेश्वरमा बहुउद्देश्यीय समाज हल निर्माण

विकल्प न्यूज/बेनी
साउन ३ गते । म्याग्दीको गलेश्वरधाम परिसरमा बहुउद्देश्यीय समाज घर निर्माण भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मन्दिरको आन्तरिक स्रोत परिचालन गरेर बहुउद्देश्यीय बाटिका भित्र हल निर्माण गरेेेकाे हो ।

सभाहल निर्माण गर्न गलेश्वर क्षेत्र विकास कोषको आन्तरिक स्रोत २१ लाख ९६ हजार पाँचसय रुपियाँ खर्च भएको गलेश्वर क्षेत्र विकास कोषका उपाध्यक्ष भिमनाथ पराजुलीले बताउनुभयो ।

गलेश्वरमा हुने यज्ञ,विवाह,व्रतबन्ध,चौरासी पुजा लगायतका धार्मिक कार्यहरु गर्न असुविधा भएकाले कोषले मन्दिरमा भक्तजनहरुबाट संकलन भएको भेटीको रकमबाट सभाहल निर्माण गरिएको बताउनुभयो । एकसय पचास जना जति अट्न सक्ने सभाहल एकतल्लाको छ । सभाहलको छाना युपिभिसी पाताले छाइएको छ ।

सभाहल निर्माण गर्न कोषका कोषाध्यक्ष बम बहादुर पुनको संयोजकत्वमा समिति गठन गरी फागनुबाट निर्माण थालिएको सभाहल जेठको अन्तिममा सम्पन्न गरिएको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । सभाहल बनेपछि धार्मिक कार्यहरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।