आरडिटी परीक्षण बन्द हुने, क्वारेन्टिनमा रहेकाको अनिवार्य पिसिआर गरिने

असार २३, २०७७

सरकारले विवादस्पद आरडिटी परीक्षणलाई बन्द गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ का अभियन्ताबीच भएका १२ बुँदे सहमतिमा र्‍यापिड टेस्ट स्थगित गर्ने उल्लेख छ।

सहमति भएपछि अभियन्ता ईशान ई र पुकार बमले अनसन तोडेका छन्।

मन्त्रालयले अब सबैको पिसिआर विधिबाट मात्र परीक्षण गर्नेछ। सरकारले आरडिटी परीक्षण प्रयोगमा ल्याएदेखि नै यो विवादित बनेको थियो। विज्ञहरूले समेत विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै आरडिटी प्रयोग नगर्न सुझाएका थिए।

मन्त्रालयले भने अन्य देशले पनि प्रयोग गरिरहेको भन्दै आरडिटी परीक्षणलाई निरन्तरता दिँदै आयो। मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म ३ लाख १२ हजार जनाको आरडिटी परीक्षण गरिएको छ। यस्तै, पिसिआर परीक्षण २ लाख ५५ हजार जनाको गरिएको छ।

आरडिटी परीक्षणको गुणस्तर अध्ययन गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मन्त्रालयलाई आरडिटी किट संक्रमण पहिचानको लागि प्रयोग नगर्न सुझाएको थियो। परिषद्ले यो किट संक्रमण निगरानीको लागि मात्र प्रयोग गर्न सिफारिस गरेको थियो। परिषद्ले समेत त्यस्तो सिफारिस गरे पनि मन्त्रालयले आरडिटी परीक्षणलाई स्थगित गरेन।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संसदमा आरडिटी परीक्षण विश्वसनीय नभएको भन्दै बन्द गर्न सरकारसँग माग गरेको थियो। सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएन बरु आरडिटी परीक्षणलाई व्यापक बनाउँदै गयो।

अहिले भने मन्त्रालयले आरडिटी परीक्षण बन्द गर्ने सहमति जनाएको छ। ‘इनफ इज इनफ’ का अभियन्ताहरूसँग भएको उक्त सहमति पत्रमा क्वारेन्टिनमा रहेका व्यक्तिहरूको अनिवार्य पिसिआर परीक्षण गरेर नेगेटिभ आएमात्र घर पठाउने उल्लेख छ।

यसअघि मन्त्रालयले ‘कोभिड-१९ टेस्टिङ’ सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै क्वारेन्टिनमा रहेकाको लक्षण देखिए मात्र पिसिआर परीक्षण गर्ने जनाएको थियो। लगत्तै विज्ञहरूले कोरोनाका अधिकांश बिरामीमा लक्षण नदेखिएको भन्दै सो निर्देशिकाले संक्रमित पनि परीक्षण हुनबाट बञ्चित हुने र त्यसले थप संकट आउनसक्ने चेतावनी दिएका थिए।

अहिले भएको सहमतिमा भने मन्त्रालयले क्वारेन्टिनमा भएको मात्र हैन लक्षण नदेखिएका व्यक्तिको पनि परीक्षण गर्ने जनाएको छ।

‘जोखिममा रहेकाहरूको (लक्षण भएका वा नभएका) राज्यको नीति अनुसार परीक्षणको व्यवस्था गर्न हालको निर्देशिकालाई यसै हप्ताभित्र परिमार्जन गर्ने,’ सहमति पत्रमा उल्लेख छ।

त्यस्ता जोखिममा रहेका व्यक्तिहरू विदेशबाट फर्किएका, संक्रमित व्यक्तिको सम्पर्कमा पुगेका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मी, श्वासप्रश्वासको समस्या देखा परेका, ज्वरो आएका र स्वाद वा गन्ध शक्ति हराएका व्यक्तिलाई मानिएको छ।setopati