विकल्प न्यूज/बेनी
असार २२ गते । बेनीको विरेन्द्रचोकमा बच्चालाई भिटामिन खुवाउदै महिला स्वास्थ्यकर्मी ।
बालबालिकालाई भिटामिन ए खुवाउन लैजाँदा विभिन्न सुरक्षाका उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।
विषेशगरी स्वास्थ्यकर्मी र अभिभावकले सुरक्षाको उपायमा ध्यान दिन स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखाका प्रमुख केदार पराजुलीले सुझाव दिनुभएको छ । भिटामिन ए खुवाउन लैजाँदा भौतिक दूरी कायम गर्न उहाँले अभिभाकलाई आग्रह गर्नुभएको छ । भिडभाड धेरै नहोस् भनेर देशभरका ५२ हजारवटै केन्द्रमा १ घण्टामा १० जना बालबालिकालाई मात्रै भिटामिन खुवाउन अनुरोध गरेको उहाँले बताउनुभयो ।
कोरोना भाइरसको जोखिम भएकोले कसैमा सङ्क्रमण भएको छ भने अरुमा नफैलियोस् भनेर दूरी कायम गर्न यस्तो आग्रह गरिएको उहाँको भनाई छ । भिटामिन खुवाउने स्वास्थ्यकर्मीले अनिवार्य रुपमा सर्जिकल मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कुनै बालबालिकामा ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखिएको छ कि भनेर ध्यान दिन पनि उहाँले आग्रह गर्नुभएको छ । यस्ता बालबालिका र आज छुटेका बालबालिकालाई भने भोलि घरघरमै गएर भिटामिन खुवाउने उहाँले बताउनुभयो ।
नजिकैको स्वास्थ्य सस्थामा वा तोकिएको केन्द्रमा जाँदा अभिभावकले पनि दूरी कायम गर्नेदेखि लिएर सबै सावधानी अपनाउन पराजुलीले आग्रह गर्नुभएको छ ।