विकल्प न्यूज/बेनी
जेठ ९ गते । म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमानामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन ।
जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतबाट फर्किएका म्याग्देलीहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
उहाँका अनुसार भारतीय सीमामा अलपत्र परेका उनीहरुलाई उद्धार गरी जिल्लामा ल्याउन लागिएको हो । ६० जना जति हुनुहुन्छ उहाँहरु गाडी चढीसक्नुभएको छ प्रजिअ ढकालले भन्नुभयो ‘भोली बेलुका सम्म बेनी आइपुग्नुहुन्छ ।’ केही सीमापारी भारतीय भुमिमा भएकाले उनीहरुलाई पनि उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
शुक्रबार विहान आएका १० जनालाई वेष्टप्वाइन्टमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
सुरक्षा र अन्य सेवा सुविधाका हिसावले पनि बेनीमा राख्न ठिक हुने भएकाले क्वारेन्टाइन क्षमताको विस्तार गरिएको प्रजिअ ढकालले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको खानपानका लागि बेनी नगरपालिका लगायत स्थानीय तहहरुले आर्थिक व्यवस्थापन गर्नेछन् ।
कमाण्ड पोष्टको निर्णय बमोजिम क्वारेन्टाइन निर्माण र व्यवस्थापनका लागि आवश्यक सहयोग नगरपालिकाले गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।
कोरोनाको महामारी फैलिएको भारतबाट म्याग्देलीहरु जिल्ला फर्किन थालेपछि उनीहरुलाई राख्नका लागि जिल्ला स्थित राजनीतिक दल,स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय लगायत सरोकारवाला निकाहरुले क्वारेन्टाइन निर्माणमा जुटका हुन ।
नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल,नेपाली काँग्रेसका सचिव क्या. मिनबहादुर कार्की, रेडक्रसकर्मी,सुरक्षा निकाय र स्वयमसेवक युवाहरु क्याम्पसमा क्वारेन्टाइन निर्माणमा जुटेका थिए ।
क्वारेन्टाइनमा राखिएका सवैको पिसिआर प्रविधिबाट कोरोना परिक्षण गरिने छ ।