लकडाउन फेरि लम्ब्याउने तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने

२३ वैशाख, काठमाडौं ।

सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्र छुट्याउने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए । उनले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए । ‘त्यसमा उहाँको दुई वटा तर्क थियो’ एक मन्त्रीले भने, ‘एउटा भारतमा संक्रमणको अवस्था जाने जोखिमपूर्ण देखिएको छ । त्यसको असर नेपालमा पनि पर्छ नै । अर्को, हाम्रो टेष्ट पनि पुगेको छैन ।’

अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने भएकाले परीक्षण बढाउनु पर्नेमा जोड दिएका छन् ।

एक मन्त्रीकाअनुसार समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने छ । र, भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठीक भएको निष्कर्ष निकालेको बताए । २५ गतेपछि लकडाउन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले सरकारले जे नीति अख्तियार गरेको छ, यो सही छ । यो निरन्तर रहन्छ ।’onlinekhabar