म्याग्दीमा एकैदिन ३ जनामा डेङ्गी देखियो

विकल्प न्यूज/बेनी
बैशाख २२ गते ।

म्याग्दीमा एकैदिन तीन जनामा डेङ्गी देखिएको छ । बेनी अस्पतालमा उपचारका लागि पुगेका एक महिला र दुई पुरुषमा डेङ्गी देखिएको हो ।
एक्कासी टाउको दुख्ने, हात खुट्टाका जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि आएका बेनी नगरपालिका ५, ६ र ९ का एकरएक जनामा डेङ्गी देखिएको अस्पतालका क्लिनिकल प्रमुख डाक्टर नवराज बस्ताकोटीले बताउनुभयो ।

नयाँ बिरामीसँगै म्याग्दीमा डेङ्गी देखिएकाको सङ्ख्या पाँच पुगेको छ । वैशाख महिनाका तीन हप्तामा चार पुरुष र एक महिलामा डेङ्गीको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गीको उच्च जोखिममा रहेको डाक्टर बस्ताकोटीको भनाइ छ ।

लामखुट्टे सक्रिय हुन थालेकाले अब डेङ्गीको जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । पोथी लामखुट्टेको टोकाइका कारण डेङ्गी लाग्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरले सुझाव दिँदै आएका छन् ।

यो जातको लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा पानीलाई राम्ररी छोप्न र एक हप्ताभन्दा लामो समयसम्म एउटै भाँडामा पानी नराख्न डाक्टरको सल्लाह छ । यस्तै घर वरिपरि सफा गरी पानी जम्ने खाल्डाखुल्डी पुर्न पनि डाक्टरको सुझाव छ ।