बेनी अस्पतालको आइसोलेशनमा मापदण्डको अभाव

विकल्प न्यूज/बेनी
बैशाख २० गते । बेनी अस्पतालमा निर्माण गरेको आइसोलेशन मापदण्ड अनुसार नभएको पाइएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी अस्पतालमा निर्माण गरिएको भनिएको ६ बेड क्षमताको आइसोलेन वार्डमा आधारभुत पूर्वाधारको अभाव देखिएको हो ।

कोरोना भाइरसको लक्षण देखिएका र संक्रमण पुष्टी भएका विरामीहरुलाई उपचार गर्नको लागि बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको थियो । पूर्वाधार अभाव देखिएको छ ।

दश बेड सम्म विस्तार गर्न सकिने ६ बेड क्षमताको आइसोलेशन वार्डमा आवश्यक पर्ने अन्य पूर्वाधारहरु नभएको पाईएको कोभिड–१९ लक्षित जिल्ला स्तरीय मानव अधिकार अबस्था अनुगमन टोलीले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ नेपालले केन्द्र, प्रदेश र जिल्ला स्तरमा मानव अधिकार अवस्था अनुगमन नेटवर्क बनाएर अनुगमन सुरु गरेका हुन् ।

अनुगमनको क्रममा वेड बाहेक आइसोलेशनको लागि आबश्यक पर्ने अन्य मापदण्डहरु पुरा नभएको पाईएपछि आइसोलेशन वार्डमा आबश्यक मापदण्ड पुार गर्न सुझाब दिईएको टोलीका सदस्य हरिप्रसाद पौडेलले बताउनुभयो ।

अनुगमनको क्रममा प्रयाप्त बेड नभएकाले आइसोलेनका बेडलाई नै अन्य विरामीको उपचारमा समेत लैजाने गरिएको भेटिएको थियो । अस्पतालमै रहेका बेड र स्रोत साधनलाई प्रयोग गरि आइसोलेशन बनाईएकाले सबै मापदण्ड पुरा गर्न नसकिएको अस्पतालका मेडिकल सुपरेटेन्डेन्ट डाक्टर अमृत अधिकारीले जानकारी दिनुभयो ।

बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार, आइसोलेशन वार्डमा आइसीयु र भेन्टिलेटर बाहेकका मापदण्ड पुरा भएको बताईएको छ । तर आइसोलेनशन वार्डमा भने अस्पतालमा रहेका पुरानै बेड लगायतका सामानहरुलाई नै प्रयोग गरि काम चलाउ प्रवन्ध गरिएको पाईएको अनुगमन समितिले जनाएको छ । अस्पताल विकास समितले आइसोलेन वार्ड निर्माणमा गण्डकी प्रदेश सरकार, जिल्ला विपद ब्यवस्थापन समितिबाट प्राप्त सहयोग संगै समितिको आन्तरिक कोषलाई समेत परिचालन गरेको जनाएको छ ।

अनुगमन समितिले वेष्ट प्वाइन्ट क्वारेनटाइनमा समेत सहज ब्यबस्थापन नभएको भेटिएको जनाएको छ । अनुगमन टोलीलाई क्वारेनटाइनमा बसेकाहरुले आधारभुत स्वास्थ्य र सरसफाईका लागि आबश्यक पर्ने सामाग्रीहरु उपलब्ध नभएको गुनासो गरेका थिए ।म्याग्दीमा नेपाल बार यशोशियसनका अध्यक्ष चिरञ्जीवि शर्माको संयोजकत्वमा गैसस महासंघका अध्यक्ष दिपक पौडेल, निवर्तमान अध्यक्ष हरि प्रसाद पौडेल, नेपाल पत्रकार महांघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य र सहसचिब कमल खत्री सदस्य रहेको अनुगमन टोलीले अनुगमनलाई अघि बढाएको छ ।
यता बेनीमा २० बेड क्षमताको आइसोलेशन बनाउने जिल्ला कमाण्ड पोष्टको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन् । कमाण्ड पोष्टको वैशाख ६ गतेको बैठकले २० शैया क्षमताको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको थियो ।

आइसोलेशन बनाउने ठाउँ छनौट हुन नसकेपछि कमाण्ड पोष्टको निर्णय कार्यान्वनयमा आउन ढिलाइ भएकोे छ । बेनी नगर कार्यपालिकाको वैशाख ७ गतेको बैठकले १० बेडको आइसोलेशन बनाउने निर्णय गरेको थियो ।

कमाण्ड पोष्टले हाल क्वारेन्टाइन सञ्चालन भएको न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन बनाउने निर्णय गरेको थियो । तर विद्यालयका सञ्चालकहरुले अभिभावकको दवाव आएपछि विकल्प खोज्न बिहीबार कमाण्ड पोष्टलाई निवेदन दिएपछि कमाण्ड पोष्ट वैकल्पिक ठाउँको खोजीमा जुटेको छ ।