जिल्ला विपद् व्यवस्थापन कोषमा नेकपा म्याग्दीको साढे दुईलाख सहयोग

विकल्प न्यूज/बेनी
बैशाख ५ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीको कोषमा साढे दुइलाख रुपियाँ सहयोग गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र राहत वितरणमा परिचालन गर्ने गरी नेकपाले दुइलाख ५७ हजार आठ सय ३३ रुपियाँ सहयोग गरेको हो ।
पार्टीका जिल्ला स्तरका नेता,कार्यकर्ता तथा सुभचिन्तकहरुबाट संकलन गरिएको उक्त रकम नेकपा जिल्ला कमिटी म्याग्दीले शुक्रबार जिल्ला विपद व्यवस्थापन कोषको नेपाल वैंक लिमिटेढमा रहेको खातामा जम्मा गरेको पार्टीका सचिव हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

लकडाउनका कारण समस्यामा परेका गरिब,विपन्न तथा मजदुरलाई राहत वितरणमा सहयोग पु¥याउन पार्टीले उक्त रकम सहयोग गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरसबाट प्रभावित समुदायको लागि स्थानीय तहहरु मार्फत वितरण गरिने राहत तथा स्वास्थ्य सामाग्री खरिदमा उक्त सहयोग रकम खर्च हुने नेकपाले विश्वास गरेको पार्टीका सचिव श्रेष्ठले बताउनुभयो ।