पाखापानीका वडा अध्यक्ष शेरपुजाको घरबाट गोली बरामद

विकल्प न्यूज/बेनी
चैत ३० गते ।
म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरमा बुलेट (गोली) फेला परेको छ । शनिबार अध्यक्ष शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा एउटा बुलेट छ भन्दै सार्वजनिक गरेपछि प्रहरीले आइतबार घरखनतलासी गर्दा बुलेट (गोली) बरामद गरेको हो ।पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको डिएसपी किरणजंग कुँवरले जानकारी दिनुभयो ।

‘शनिबार उहाँ (शेरपुजा)ले सामाजिक सञ्जाल फेसबुकमा आफूसंग बुलेट भएको स्टाटस राखेपछि अनुसन्धान गर्न गएको प्रहरीले छापा मार्दा गोली भेटिएको हो,’ उहाँले भन्नुभयो ‘कुन प्रकृतिको गोली, कुन स्रोतबाट आएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौ ।’

डिएसपी कुँवरका अनुसार फरार भएका शेरपुजाको खोजी जारी छ । अदालतबाट आवश्यक कानुनी प्रक्रिया सुरु गरेको छ । स्थानीय जनप्रतिनिधि र उहाँ आवद्ध नेपाली काँग्रेसका स्थानीय प्रतिनिधि तथा अगुवाहरुको रोहबरमा बिहान घरमा खानतलासी गरिएको थियो ।

अध्यक्ष शेरपुजाले “नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु” भनेर फेसबुकमा लेख्नुभएको थियो ।

शेरपुजाले सामाजिक सञ्जालमा अभिव्यक्त गरेपछि प्रहरी टोली अनुसन्धानका लागि कोटगाउ गएको थियो । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका हुनुभएको थियो ।

उनि नेपाली काँग्रेस रघुगंगा गाउपालिका समितिका सचिव हुनुहुन्छ । शेरपुजा स्थानीय चुनाव ताका नेपाली काँग्रेसमा प्रवेश गरेका गर्नुभएको थियो । त्यसअघि शेरपुजा मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध हुनुहुन्थ्यो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उहाँसँग हतियार राख्ने अनुमति भए नभएको विषयमा अनुसन्धान जारी छ । गोली कुन प्रकृतिको हो भन्ने विषयमा परिक्षणका लागि प्रयोगशालामा पठाउने डिएसपी कुँवरले बताउनुभयो । अबैध हात हतियार वा गोलगठ्ठा राखेको कसुर पुष्टि भएमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइनेछ । उनको वडा अध्यक्षको पद गुम्नेछ ।