गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण ः मुख्यमन्त्री गुरुङ

विकल्प न्यूज/बेनी
चैत २८ गते । गण्डकी प्रदेशमा चैत महिनामा विदेशबाट आएका करिब चारहजार जनाको कोरोना परिक्षण गर्ने तयारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङले बताउनुभएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका प्रयासहरुको अवलोकन गर्न शुक्रवार बेनी आउनुभएका मुख्य मन्त्री गुरुङले चैत महिना यता विभिन्न मुलुकबाट प्रदेशमा भित्रिएका ३७ सय पचास जनाको कोरोना परिक्षणका लागि तयारी भइरहेको बताउनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरु सँगको भेटमा मुख्य मन्त्री गुरुङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमण फैलावट रोक्न विदेशबाट प्रदेश भित्रिएका सबै जनाको ¥यापिड टेष्ट गरिने उहाँले जानकारी दिनुभएको हो ।
विदेशबाट आएका सवैजनाको कोरोना परिक्षण गरेपछि मात्र यो विरुद्धको लडाईमा सफलता हासिल हुने उहाँले बताउनुभयो ।

संघ र प्रदेशले बनाएको राहत वितरणको मापदण्डलाई आधार बनाएर राहत वितरण गर्न पनि स्थानीय तहलाई उहाँले सुझाव दिनुभएको छ ।
कोरोना भाइरस विरुद्धको अभियान म्याग्दी जिल्लामा उदाहरणीय बनेको उहाँले बताउनुभयो ।

स्थानीय तहका जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी,राजनीतिक दल,विभिन्न संघ संस्था र सुरक्षाकर्मीहरुको सक्रियताको मुख्यमन्त्री गुरुङले प्रशंसा गर्नुभयो । सवैको सहकार्यबाट नै यो महाविपत्तीको सामाना गर्न सकिने भएकाले सवै जना जुटन उहाँले अनुरोध गर्नुभयो ।

साधनस्रोतको कमि भए भन्नुहोस मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘कोरोना भाइरस फैलिन नदिन प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्दछ ।’ उच्च मनोबलका साथ काम गर्न सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुलाई मूख्यमन्त्री गुरुङले अनुरोध गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश सरकारले उच्च सर्तकता र सजग रहेको उहाँको भनाई थियो ।
सरकारले ल्याएको लकडाउनलाई पूर्णरुपमा पालना गर्न उहाँले म्याग्दीवासीहरुलाई अनुरोध गर्नुभएको छ ।