बेनीमा १० बेडको कोरोना विशेष अस्थायी अस्पताल बनाउन सुरु

विकल्प न्यूज/बेनी
चैत ७ गते ।
कोरोना भाइरस संक्रमितका लागि बेनीमा १० बेड क्षमताको अस्थायी अस्पताल बनाइन सुरु गरिएको छ । शुक्रबार बेनीमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । अस्पताल शनिबार बेलुका सम्म तयार हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
बेनी नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी,शस्त्र प्रहरी,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी अस्पतालका प्रतिनिधिहरु सम्मिलित वैठकले म्याग्दी बहुमुखी क्याम्पस नजिक रहेको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको पुरानो भवनलाई मर्मत सम्भार र रङरोगन गरी अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो । भवनमा रहेका पाँचकोठामा १० बेड राखिने छन् ।

भवनको सरसफाई र आवश्यक पूर्वाधार निर्माण गर्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाले शनिबार बेलुका सम्म अस्पताल तयार पार्ने छ ।
कोभिड– १९ भाइरसबाट संक्रमितहरुको उपचारमा सहज होस भनेर छुट्ै अस्पताल बनाउन लागिएको बेनी अस्पतालका डाक्टर मनोज घिमिरेले बताउनुभयो । आकष्मीक रुपमा संक्रमितहरु देखा परेमा तत्काल राखेर उपचार गर्न सहज होस भनेर अस्पताल बनाउन लागिएको डाक्टर घिमिरेले बताउनुभयो ।अस्पतालमा १० बेडको आईसीयुलेशन कक्ष हुने छ । कोरोना भाइरसका विरामीको आकष्मीक उपचारका लागि बेनी अस्पतालले पूर्व तयारीका रुपमा अस्पताल बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।