खुसीको खबर ः बेनी अस्पतालमा डायलाइसिस सेवा सुरु हुँदै

विकल्प न्यूज/बेनी
चैत ६ गते ।

 

 

 

 

बेनी अस्पतालमा निशुल्क हेमोडायलाइसिस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । एकहप्ता भित्रमा सो सेवा सञ्चालनमा ल्याउने गरी अस्पतालले तयारी थालेको हो । गण्डकी प्रदेश सरकारले बेनीमा रहेको सरकारी अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक उपकरणहरु पठाएको छ । यतिखेर ति उपकरणहरुको जडान काम भइरहेको छ । 

उपकरणहरु जडान गरी परिक्षण पश्चात म्याग्दीमा पहिलो पटक मिर्गौला रोगीहरुले आफ्नै जिल्लामा डायलाइसिस सेवा पाउने भएका छन् । सेवा सञ्चालन सँगै डायलाइसिस सेवा लिनका लागि धेरै पैसा खर्चिएर जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सेवा सञ्चालनका लागि ४ वटा डायलाइसिस मेशिन,१ जेनेटर,आरो मेशिन १ पठाएको छ । साथै सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ३५ लाख रुपैयाँ पठाएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ६ बेड क्षमता भएपनि हाललाई ३ बेडबाट सेवा सञ्चालन गरिने भएको छ । पछि पाँचवटै बेड सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

सेवा सञ्चालनका लागि प्राविधिक जनशक्ति पनि व्यवस्थापन भइसकेको उहाँले बताउनुभयो । २ जना डाक्टर, स्टाफ नर्स ४ जना,एकजना टेक्नीसियन र १ जना कार्यालय सहयोगीको जनशक्ति व्यवस्थापन भइसकेको उहाँले जानकारी दिनुभयो । जिल्लामै पहिलो पटक सेवा सञ्चालन गर्न लागिएकाले सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सवै सरोकारवाला पक्षहरुसँग सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सेवा लिनका लागि विरामीहरुले कुनै शुल्क तिर्नुपर्ने छैन । सबै सेवाहरु हामी निशुल्क दिने छौं अस्पताल विकास समितिका अध्यक्ष कटुवालले भन्नुभयो । गरिब र विपन्नहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने छ । चार वटा मेशिनबाट दैनिक १० जना व्यक्तिलाई डायलाइसिस सेवा दिइने भएको छ। मृगौला रोगीले हप्ताको २ पटक अनिवार्य डायलाइसिस गर्नुपर्ने हुन्छ ।

मृगौलाको रोग लागि सकेपछि प्रत्यारोपण वा डायलाइसिस गर्नु पर्ने र यी र्दुइ उपाय मध्ये कम खर्चिलो मानिने डायालाइसिस सेवा सहज रुपमा आफ्नै जिल्ला अस्पतलाबाट पाउँदा मिर्गौला रोगीहरुलाई राहत मिल्ने छ ।

बागलुङ,पोखरा र काठमाण्डौं पुगेर डायलाइसिस गर्ने विरामीहरु अहिले करिब २५ जना जति भएको अध्यक्ष कटुवालले बताउनुभयो । अस्पतालले सेवा सुरु गर्न लागेको जानकारी पाएपछि अहिले सम्म ४ जना मिर्गौलाका रोगीहरु सम्पर्कमा आएको उहाँले बतााउनुभयो । बालबालिका र युवाहरुलाई प्राथमिकतामा राखिने उहाँले बताउनुभयो ।