स्वर्गाश्रममा भवन निर्माण सुरु

सन्दिप शर्मा/ म्याग्दी
फागुन ११ गते ।
बेनी नगरपालिका ३ भक्कीम्लीको स्वर्गाश्रममा भवन निर्माण सुरु गरिएको छ । बेनी नगरपालिकाको ८ लाख रुपैंयाको लागतमा बन्न लागेको एक तले भवनको शुक्रबार बेनी नगरपालिकाको उपाध्यक्ष सञ्जु बरुवालले सिलन्यास गर्नु भएको हो ।

भवनको सिलन्यास गर्दै बरुवालले तपो भूमिका रुपमा रहेको स्वार्गाश्रममा तपस्या गर्न आउने भक्तजनहरु आउँदा बस्ने ठाउँ नभएको, भक्तजन दुःख पाउने समस्या भएकाले नगरपालिकाले भवन बनाउन लागेको बताउनुुभयो । स्वर्गाश्रममा २०४३ साल देखि ईश्वरानन्द सरास्वती माताले तपस्या गर्दै आउनु भएको छ । 

भवन सिलन्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, सरकारी वकिल कृष्णराज पन्त, बेनपा, ३ का वडा अध्यक्ष पदमबहादुर पुन, वडा सदस्य रत्नबहादुर जिसी लगाएत स्थानियबासीको उपस्थिती थियो । भवनको उभोक्ता समिती मार्फत काम गरेर जेठ महिना भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।