योजना कार्यान्वयनमा कमजोर अन्नपूर्ण

विकल्प न्यूज/बेनी
फागुन ९ गते ।

विद्यालय बन्द गरी एकसाता मेला महोत्सव आयोजना गरेर विवादित बनेको म्याग्दीको उत्तरी अन्नपूर्ण गाउँपालिका चालु आर्थिक वर्षको योजना कार्यान्वयनमा कमजोर भएको देखिएको छ । चालु आर्थिक वर्षको ७ महिनाको प्रगतिलाई हेर्दा योजना कार्यान्वयनमा गाउँपालिका कमजोर सावित भएको हो ।

कर्मचारी अभाव र प्रमुख प्रशासकीय अधिकृतको फेरबदलबाट प्रभावित भएको गाउँपालिका मेला महोत्सव,तालिम गोष्ठी र अन्तरक्रिया जस्ता कार्यक्रममा जनप्रतिनिधिले समय खर्चिदा योजना कार्यान्वनय थप फितलो भएको हो ।

कर्मचारी अभावका कारणले ६ महिनासम्म गाउँपालिका गतिहिन भयो । कुनै योजनाका कामहरु अघि वढ्न सकेनन् । प्रमुख प्रशासकीय अधिकृतको छोटो समयमा हुने सरुवा र लेखापाल नहुँदा गाउँपालिकाका योजना कार्यान्वयनमा समस्या आएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

यो अवधिमा कर्मचारीलाई तलब भुक्तानी वाहेक अरु कुनै योजनाका काम अघि वढ्न सकेनन् । प्राविधिक र प्रशासनीक जनशक्तिको अभावका कारण गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रवाहका साथै योजनाका कामहरु प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले बताउनुभयो । प्राविधिक र प्रशासनीक गरी गाउँपालिकामा ठूलो संख्यामा कर्मचारी रिक्त छन् । प्राविधिक कर्मचारीको अभाव हुँदा गाउँपालिकाले योजना कार्यान्वयन गर्न समस्या आएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाई छ ।

सुवेदीले दिएको जानकारी अनुसार प्रशासन तर्फका विभिन्न पदहरुमा ३२ दरबन्दी रहेकोमा १४ जना मात्र कार्यरत छन् । स्वास्थ्य तर्फ ४३ दरबन्दी रहेकोमा १८ स्थायी र १६ जना करारमा भर्ना गरिएको छ भने ९ जना अझै रिक्त छन् । पशु तर्फ कुनैपनि जनशक्ति छैनन् । कृषितर्फ नाप्रस १ र प्रास १ गरी दुइजनाको दरबन्दी रहेकोमा हाल सम्म एकजना पनि नआएको प्रशाअ सुवेदीले जानकारी दिनुभयो ।

यसै गरी कृषि तर्फका एकजना प्रासको पदपुर्ती भएपनि एक गाउँ एक कृषि प्राविधिक अन्तर्गत कृषिका ५ र पशुका ४ का कर्मचारीलाई संघले कार्तिक देखि तलब नपठाएका कारण तलब खुबाउन समस्या भएको छ ।

यसै गरी इन्जिनियर र सव इन्जिनियर गरी ९ जनाको दरबन्दी भएकोमा एकजना इन्जिनियरको हालैमात्र पदपुर्ती भएको छ । करारमा विज्ञापन गर्दा पनि दरखास्त नपरेपछि दरबन्दी रिक्त छ । दुईदुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन नआएको गाउँपालिकाले जनाएको छ । असिस्टेन्ट सव इन्जिनियर ४ र सव इन्जिनियर २ का लागि दरखास्त आह्वान गरेपनि पदपुर्ती हुननसकेको हो ।

कर्मचारी अभाव हुँदा स्वास्थ्यका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिइएको छ । गाउँपालिकाको राम्चे,हिस्तान,दोवा र घारमा वडा सचिव खाली छ । स्वस्थ्यकी बनिका गर्बुजालाई राम्चे वडा सचिवको जिम्मेवारी दिइएको छ । एकजना कर्मचारीलाई हिस्तान र दोवा हेर्ने गरी जिम्मेवारी दिइएको छ । गाउँपालिका कार्यालयको कर्मचारीलाई घार हर्ने गरी जिम्मेवारी दिइएको छ । कर्मचारीको अभावमा गाउँपालिका गतिहिन भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

प्राविधिक र प्रशासनीक कर्मचारीको अभावमा गाउँपालिकाले विनियोजन गरेका विकास योजनाहरुको कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो । गत असारमा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तर्फ एकसय ५९ योजना विनियोजन गरेको थियो । माघको दोस्रो साता सम्म एउटा योजना पनि सम्पन्न सकेको छैन । कतिपय योजना उपभोक्ता सँग सम्झौता भएपनि कार्यान्वयनको चरणमा प्रवेश गरेका छैनन् । नवविकल्पमा प्रकाशित