बेनी नगरपालिकाको छैँठौ नगरसभा सम्पन्न

विकल्प न्यूज/बेनी
माघ २७ गते ।बेनी नगरपालिको छैँठौ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति, योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र आगामी योजनाको विषयमा अन्तरक्रिया गर्दै सम्पन्न भएको छ ।

नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा भएको नगरसभामा उपमेयर, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुको उपस्थितमा संघिय सरकारबाट आएको अनुदान, नगरपालिकाको संचित कोष, नगरसभाबाट स्वीकृत चालु आर्थिक बर्षका योजनाहरु संशोधन र नगर सडक मापदण्डको विषयमा छलफल गरिएको थियो ।

संघिय सरकारबाट आएको अनुदान स्वरुप कोल्डस्टोरको लागि १ करोड, पात्लेखेत काछलुङ लिफ्टिङ सिस्टम र बेनी स्टेडियम खुल्लामञ्चको १ करोड नगरसभाबाट स्विकृत गरिएको छ ।

त्यस्तै नगरपालिका संचित कोषबाट डम्मरा हुदै सिमखेत मोटरबाटोका लागि ५ लाख, वाङ्गेरा हुदैँ दारिमपाटा सडकको लागि ५ लाख, अध्ययन परामर्श शिर्षकमा ६० लाख र फोहोर ब्यवस्थापनको १५ लाख रुपैया विनियोजन गर्दै स्विकृत गरिएको बेनी नगरपालिका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

नगरसभाबाट स्वीकृत योजनाहरु संशोधन गर्दै वडा नम्वर २ को ओखरबोट भिरमुनी सडकलाई ४ लाख, ८ नम्वर वडाको कालिपुल बसपार्क टिकट काउण्टर ब्यवस्थापनमा ३ लाख, वडा नम्वर ७ को मँगलाघाट प्रहरी विट देखि वडा नम्वर ६ सिमानासम्म मोटरबाटो स्तरोन्नतीमा १ लाख पचास हजार र वडा कार्यालय भवन निर्माणमा ८ लाख र कागति विरुवा तथा पाईप खरिदमा ३ लाख विनियोजित बजेट स्वीकृत गरिएको छ ।

बेनी दरवाङ सडक खण्डको बेनी सामुदायिक विद्यालय देखि भ्याउने खोला सम्मको क्षेत्रमा बजार क्षेत्रमा तोकिएको सडक मापदण्ड २०७४ अनुसारको निणयलाई लागु गरिने भएको छ।

नगरको आगामी योजनाहरु संघ, प्रदेश र नगरको सहकार्य र नगरका जनप्रतिनिधिहरुको छलफल तथा समन्वयमा योजना छनोट गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । त्यस्तै प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकाको ७० प्रतिशत योजनाहरु सम्झौता भएको जानकारी दिए ।

विकास योजनाहरुलाई पारदर्शी, गुणस्तरीय र दिगो तथा जनसहभागितामुलक बनाउन जनप्रतिनिधि तथा कर्मचारीहरुविच सहजिकरण गर्दै अनुुगमनमा ध्यान दिनुपर्ने नगरसभाका सदस्यहरुले जोड दिएका थिए ।