रत्नेचौर– ज्यामरुककोट – भकिम्ली सडक फराकिलो बनाउन सुरु

विकल्प न्यूज/बेनी
माघ २४ गते ।

बेनी नगरपालिाका १ रत्नेचौर देखि ज्यामरुककोट हुँदै भकिम्ली जोड्ने ग्रामिण कृषि सडक फराकिलो बनाउन थालिएको छ । संघीय सांसदको पूर्वाधार विकास कार्यक्रमको ६० लाख रुपैयाँमा सडक स्तरउन्नती गर्ने योजना सुरु गरिएको हो । सडक निर्माण भएपछि ग्रामिण वस्तीहरु सडक सञ्जाल सँग जोडिने आशा गरिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङ मार्फत कार्यान्वयन हुने गरी ठेक्का मार्फत करिब ३ किलोमिटर सडकको स्तरउन्नती योजना सुरु भएको हो । तिन महिनामा योजना सम्पन्न गर्न रामकृष्ण निर्माण सेवा सँग ठेक्का सम्झौता भएको छ ।

हाल कायम रहेको चार मिटर चौडा भएको सडकलाई ८ मिटर फराकिलो बनाउने, ग्यावियन जाली भर्ने, सडकको ग्रेडिङ मिलाउने, मेशीनरी वाल निर्माण,नाली बनाउने र ग्राभेल गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर मुकुन्दप्रसाद लामिछानेले जानकारी दिनुभयो । योजनाको हाल सम्म करिब ४० प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

रत्नेचौर देखि ज्यामरुककोट,भकिम्ली, बरंजा,मुसुङडोले रुम हुँदै दरवाङ जोडने रिङरोडको अवधारणा अनुसार ग्रामिण कृषि सडक निर्माण गर्ने योजना रहेको बेनी नगरपालिका १ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

केही वर्ष पहिला योजना सुरु भएता पनि रकम अभावका कारण रोकिएको सडक निर्माण दुइवर्ष यता संघीय सांसद भुपेन्द्र बहादुर थापाको पहलमा बजेट विनियोजन भएपछि सडक निर्माणले निरन्तरता पाएको अध्यक्ष रावलले बताउनुभयो ।

सडक निर्माण भएपछि ग्रामिण वस्तीहरुमा सडक सुविधाको पहुँच विस्तार हुनुका साथै कृषि उपजलाई बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष रावलले बताउनुभयो ।