विकल्प न्यूज\बेनी
पुस २३ गते । सडक कालोपत्रे योजनाका लागि सडक स्तरउन्नती गरिँदै । तस्विर ठाकुरप्रसाद आचार्य
म्याग्दी र बागलुङको सदरमुकामको नजिक भएर पनि वर्षौ देखि विकासमा पछाडी परेको पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ संघियता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ । संघियता कार्यान्वयनको तिनवर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम कार्यान्वयन हुनथालेपछि गाउँको मुहार फरिन थालेको हो । तिनवर्ष यता धाइरिङको विकासका लागि प्रदेश र स्थानीय तह गरी करिब आधा अरब बराबरका योजना सञ्चालित छन् ।
केही वर्ष अघि गाउँको विकास बजेट माग गर्न सदरमुकाम र केन्द्रमा धाउँदा पनि केही उपाय नलागेका धाइरिङवासीहरु संघियता कार्यान्वयन सँगै गाउँमा धमाधम विकास भित्रिदा छक्क परेका छन् ।
गाउँको विकास गर्न भन्दै करोडौं बजेट आउँदा संघियताको अनुभव हुन लागेको धाइरिङ सल्यानका शेषकान्त आचार्यले बताउनुभयो । गाउँको विकासमा यसपाली हामीले नसोचेको बजेट आएको छ आचार्यले भन्नुभयो, ‘बजेट पूर्णरुपमा कार्यान्वनय हुने हो भने गाउँको नै मुहार फरीन्छ । यो सघियताकै फल हो ।’
कहिल्यै नसोचेको विकास निर्माण हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । पाँचवर्ष पहिला सल्यानको सिँचाई कुलो पहिराले भत्काएपछि आफै रकम जुटाएर कुलो खनेका सल्यानवासीहरु यसपाली प्रदेश सरकारले जिर्ण बनेको कुलो निर्माण गर्न डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएपछि गाउँलेहरु दङ्ग परेका छन् । गण्डकी प्रदेश सरकारले मिलनचोक देखि ठोटनेरी सम्म १० किलोमिटर सडक कालोपत्रे योजनाका लागि २८ करोड १५ लाख र सल्यान सिँचाई योजनाका लागि एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भई काम सुरु हुनथालेको छ । तरकारीको पकेट क्षेत्रका रुपमा रहेको सल्यानको फाँटलाई सिँचाई पु¥याउन जिर्ण बनेको कुलो दुई वर्ष भित्र निर्माण हुनेछ ।
यसै गरी माथिल्लो धाइरिङमा सिँचाई सुविधा पु¥याउनका लागि द्धाकाडे घायखेत वास्कोट सिँचाई योजनाका लागि एक करोड ८४ लाख र लामाखेत लामाबगर तटबन्धन निर्माणका लागि एक करोड १० लाख रुपैयाँको विकास योजना सञ्चालनको प्रक्रियामा रहेको वडा अध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।
वडा अध्यक्ष आचार्यका अनुसार वडा भरीका नागरिकका घर घरमा धारा पु¥याउने योजनाका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपैयाँ बजेट विनियोजन भई काम भइरहेको छ । आगमी तिनवर्ष भित्र एक घर एक धाराको योजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । धाइरिङको विकासमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,संघिय सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीहरु बताउँछन् ।
सभामुख अधिकारीकै सिफारिसमा सडक कालोपत्रे योजना अघि बढेको नेकपा गाउँपालिका कमिटीका अध्यक्ष दीपक आचार्यले बताउनुभयो । गाउँको विकासका लागि प्रदेश र संघीय सरकार समक्ष अन्य योजनाहरु पनि पु¥याइएको उहाँले बताउनुभयो ।
तिन वर्ष यता गाउँपालिकाबाट धाइरिङमा करिब डेढ करोड रुपैयाँ बजेट आएको छ । चालु आर्थिक वर्षमा मात्रै ७२ लाख रुपैयाँ बजेट आएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।
गाउँपालिकाले भुगोल र जनसंख्याका आधारमा बजेट बिनियोजन नगरेको उहाँको गुनासो छ । गाउँपालिकाबाट प्राप्त भएको बजेटबाट शिक्षा,कृषि,ग्रामिण सडक,खानेपानी र सिँचाईका योजनामा खर्च गर्ने गरिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो । पर्यटन क्षेत्रको विकास र कृषि खेतीलाई व्यवस्थित गर्ने वडाको आगमी योजना रहेको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।
विकास निर्माणले गति लिइरहेको धाइरिङका बासिन्दाले अब कृषि क्षेत्रको आधुनिकिकरणमा जोड दिनुपर्ने नेकपाका वडा कमिटि अध्यक्ष हरिप्रसाद आचार्यले बताउनुभयो । निर्वाहमुखी कृषि खेतीलाई व्यवसायीकरण गरी रोजगारी सिर्जना गर्नु मुख्य चुनौती भएको आचार्यको भनाई छ ।