सुन्तला बिक्रीबाट वास्कुनामा ३० लाख भित्रियो

विकल्प न्यूज/बेनी
पुस २० गते ।

बेनी नगरपालिका ४ बास्कुनामा यसबर्ष सुन्तला बिक्रीबाट ३० लाख रुपैयाँ भित्रिएको छ । वास्कुनाका २४ घर परिवारले फलाएको सुन्तला बिक्रीबाट उक्त आम्दानी गरेका हुन । गाउँमै पुगेर व्यवसायीहरुले बोटबाटै सुन्तला खरिद गरेर पोखरा,काठमाण्डौ र इन्डिया समेत पु¥याएको कृषक तिलक गुरुङले बताउनुभयो ।

वास्कुनाका कृषकहरुले एकसय देखि १५ सय सम्म सुन्तलाको बोट लगाएका छन् । निर्वाहमुखी खती गर्दै आएका वास्कुनाका किसानहरुले पछिल्लो समय सुन्तलाको व्यवसायिक खेती गर्न थालेपछि एकै सिजनमा गाउँमा लाखौं रकम भित्रिन थालेको कृषक गुरुङले बताउनुभयो ।

यस वर्ष बास्कुना र सुर्केमेलामा गरी करिब चालीस लाख रुपैयाँको सुन्तला निकासी भएको उहाँले बताउनुभयो । यस वर्ष ६ लाख रुपैयाँ बराबरका सुन्तला बोटबाटै बिक्री गरेको गुरुङले सुनाउनुभयो ।

परम्परागत रुपमा धान, मकै, कोदो, गहुँ खेतीको विकल्पमा गाउँभरी सुन्तलाका बिरुवा लगाएपछि ब्यापारी सवारीसाधन लिएर घरमै आउन थालेपछि किसानहरु उत्साहित भएको उहाँले बताउनुभयो । पछिल्ला केही वर्ष यता व्यापारीहरु सुन्तला खरिद गर्न गाउँमै आउने भएकाले किसानहरु सुन्तलाको उत्पादन बढाउन थालेको उहाँको भनाई छ ।

बास्कुनाका १९ र सुर्केमेलाका ५ घरधुरी कृषकले व्यवसायिक सुन्तला खेती गरेका छन् । गाउँको सबै खेतबारीमा सुन्तलाका बिरुवा लगाएका छन् । घरले एक सय देखि १५ सय बोट सुन्तला लगाएका छन् । सुर्केमेलाका रोशन क्षेत्रीले सडक र यातायात सुबिधा भएकाले सुन्तलाको बजारीकरणमा सजिलो भएको बताउनुभयो । १५० बोटमा सुन्तला फलाएका क्षेत्रीले डेढ लाख रुपैयाँ मूल्य बराबरको करिब तीन हजार किलो सुन्तला काठमाडौ पठाएको बताउनुभयो ।

सुन्तला खेती गरेपछि घरखर्च चलाउन र छोराछोरी पढाउन विदेश जानु नपरेको स्थानीय दलप्रसाद घर्तीले बताउनुभयो । दानाको आकार र गुणस्तर अनुसार ग्रेडीङ गरेर प्रतिकिलो ५० देखि ६० रुपैयाँका दरले सुन्तला व्यपारीले खरिद गर्ने गरेको किसानहरु बताउँछन् ।

केही ठाउँमा दाना झर्ने र बोट सुक्ने समस्या देखिएपनि यसपालि म्याग्दीमा सुन्तला उत्पादन बढेको सुन्तला जोन सञ्चालक समितिका अध्यक्ष खिम पुनले बताउनुभयो । म्याग्दीको सात सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । सडक पहुचले सुन्तलको माग बढेसंगै जिल्लामा सुन्तला खेतीलाई ब्यवसायिक रुपमा बढाउन थालेका छन् ।

सुन्तला पठाउने तयारी गर्दै किसानहरु । तस्विर कृषि ज्ञान केन्द्र

केही वर्ष पहिलेसम्म स्थानीय बजारमा सिमीत म्याग्दीको सुन्तला अहिले पोखरा, काठमाडौ, नारायणघाट देखि जनकपुर लगायतका शहरमा पुग्न थालेको छ । वार्षिक सात करोड रुपैयाँ मूल्य बराबरको दुई हजार पाँच सय मेट्रिक्टन सुन्तला उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तलाखेतीको प्रवद्र्धनका लागि म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत सुन्तला जोन स्थापना भएको छ ।