कर तिर्ने संस्कारको विकास गरौं ः मन्त्री पुन (भिडियो सहित)

विकल्प न्यूज/बेनी
पुस १९ गते । गण्डकी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्योगी व्यापारीहरुलाई कर तिर्ने संस्कारको विकास गर्न अनुरोध गर्नुभएको छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले व्यवसायीहरुमा कर तिर्ने संस्कार बसाल्न अनुरोध गर्नुभएको हो । नागरिकहरुमा कर तिर्ने संस्कारको विकास गरी करको दायरा बढाउनु पर्ने मन्त्री पुनले बताउनुभयो । संविधानले देशको विकासका लागि तिन पिल्लरको परिकल्पना गरेकाले सरकार,सहकारी र नीजि क्षेत्र जिम्मेवार भएर लाग्नुपर्ने मन्त्री पुनले बताउनुभयो । तिनवटै पिल्लरको सहकार्यमा प्रदेश सरकारले जडीवुटी प्रशोधन केन्द्र स्थापना गर्न लागेको मन्त्री पुनले बताउनुभयो । कतिपय कानुनी जटिलताका कारण प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ती गर्न समस्या भएको उहाँको भनाई थियो । राजनीतिक आन्दोलन सकिएको बताउँदै मन्त्री पुनले अवको आन्दोलन गरिबी विरुद्ध हुनुपर्ने बताउनुभयो । स्थानीय स्रोत र साधनमा आधारित उद्योगहरु खोल्न निजी क्षेत्रलाई मन्त्री पुनले अनुरोध गर्नुभयो । वस्तु र जनशक्ति आयतलाई प्रतिस्थापन नगरसम्म राष्ट्र धनी नहुँने मन्त्री पुनको भनाई थियो । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको बताउँदै मन्त्री पुनले यसमा नीजि क्षेत्रले सहयोग गनर््ुपर्ने बताउनुभयो । हाम्रो उत्पादनलाई जाँडरक्सीमा परिणत गर्ने होइन भन्दै मन्त्री पुनले भन्नुभयो ‘मूल्य पर्ने गरी उत्पादनलाई विविधीकरण गर्ने गरी योजना नीजी क्षेत्रले बनाओस प्रदेश सरकार सहकार्य गर्न तयार छ ।’

दक्ष जनशक्ति र पुँजी विदेशीएको बताउँदै मन्त्री पुनले प्रदेश यसलाई रोक्नका लागि गण्डकी विश्वविद्यालय बनाउने योजना अगाडि सारेको बताउनुभयो । सीपमुलक र प्राविधिक शिक्षाका लागि प्रदेश सरकारले गण्डकी प्राविधिक प्रतिस्ठान स्थापना गर्न लागिएको मन्त्री पुनले बताउनुभयो । मन्त्री पुनले म्याग्दीका दुई ठाउँमा गण्डकी नमुना आवशीय विद्यालय स्थापना गर्न लागिएको बताउनुभयो ।

३६ वटा आदर्श विद्यालय स्थापना गर्ने तयारी प्रदेश सरकारले गरेको बताउँदै मन्त्रीले पुनले नैतिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । दक्ष जनशक्तिको अभाव भएको बताउँदै मन्त्री पुनले दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेश सरकारले स्थानीय तह अनुसारको पाठ्यक्रम बनाउन लागेको मन्त्री पुनको भनाई थियो । बेनी अस्पतालमा निकट भविष्यमै डायलाइसीस सेवा सुरु गर्न लागिएको मन्त्री पुनले बताउनुभयो । साधारणसभामा संविधानसभाका सदस्यहरु गोविन्द पौडेल,रेशम बानियाँ र नवराज पौडेलले नीजि क्षेत्रले जिल्लाको पर्यटन र जलविद्युतमा लगानी गर्नुपर्ने बताउनुभयो । प्रदेश सांसद विनोद केसी, नेपाली काँग्रेसका उपसभापति माधवप्रसाद रेग्मी ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल, नेपाल उद्योग बाणिज्य महासंघका गण्डकी प्रदेश समितिका अध्यक्ष सञ्जीब कोईराला, केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, संघका निवर्तमान जिल्ला अध्यक्ष जिवन बहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्मा, गैसस महासंघका अध्यक्ष दिपक पौडेल, संघको मंगला गाउँपालिका इकाई अध्यक्ष होमनाथ पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यको अध्यक्षता तथा स्वागत,महासचिव लिलाराम गौतमको सञ्चालनमा सम्पन्न साधारणसभामा वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले धन्यबाद व्यक्त गर्नुभएको थियो । साधारणसभाले संघका अध्यक्ष,महासचिव र कोषाध्यक्षले प्रस्तुत गर्नुभएको प्रगति तथा आर्थिक प्रतिवेदन पास गरेको द्धितिय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।