राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन जोड

विकल्प न्यूज/बेनी
पुस १८ गते । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ हुन लागेको राष्ट्रिय जनगणना २०७८ लाई प्रभावकारी बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

तथ्याङ्क कार्यालय बागलुङले शुक्रवार बेनीमा गरेको जिल्ला स्तरीय अन्तरक्रिया गोष्ठीमा बोल्ने बक्ताहरुले जनगणनालाई प्रभावकारी रुपमा सम्पन्न सरोकारवालाहरुको सक्रिय भूमिका हुनुपर्नेमा जोड दिएका हुन ।

गोष्ठीमा संविधानसभाका सदस्य गोविन्द पौडेलले संघियता कार्यान्वयन पछिको पहिलो जनगणनालाई प्रभावकारी रुपमा सञ्चालन गरी वास्तविक तथ्याङ्क संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वस्तुगत आवश्यकतामा आधारित रहेर वैज्ञानिक माध्यमबाट जनगणना गर्नुपर्ने बताउनुभयो । उहाँले सवै क्षेत्रका सरोकारवालाहरुलाई जनगणनामा सहभागि बनाउन सुझाव दिनुभयो ।

जनसहभागितामा आधारित रहेर जनगणना गर्न सकेमा मात्र यर्थात विवरण आउने भएकाले जनगणनामा नागरिकको अपनत्व हुने गरी अभियानलाई स्रञ्चालन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
गोष्ठीमा तथ्याङ्क कार्यालय बागलुङ अधिकृत मुकुन्द शर्माले जनगणना सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अव हुने १२ औं जनगणनालाई भरपर्दो र विश्वासनीय बनाउन वैज्ञानिक तवरले विवरणहरु संकलन गर्ने तयारी भएको उहाँले बताउनुभयो । संघियता कार्यान्वनय पछिको पहिलो जनगणना भएकाले भरपर्दो र वास्तविकतामा आधारित रहेर जनगणना लिइने उहाँले बताउनुभयो ।

सरकारी कार्यालयका प्रमु्ख एवम् प्रतिनिधि,विभिन्न संघसंस्थाको प्रतिनिधि,पत्रकार लगायत उपस्थित भएको गोष्ठीको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।