बेनी नगरका योजना कार्यान्वयनमा तिव्रता

विकल्प न्यूज/बेनी
पुस १६ गते ।
बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित विकास योजनाहरुको कार्यान्वयनलाई तिव्र गतिमा लगेको छ । वर्खा र चाढपर्वका कारण योजना कार्यान्वयनले गति लिन नसकेको नगरपालिकामा मंसिर महिना सँगै योजना कार्यान्वनयले गतिलिन थालेको छ ।

नगरपालिकाद्धारा विनियोजन भएका विकास योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठन र सम्झौताले तिव्रता पाएको हो । कतिपय योजनाहरु सम्पन्न भइसकेका छन् ।

चालु आर्थिक वर्षमा विनियोजन भएका योजनाहरु पुस मसान्त भित्र सम्झौता गरिसक्ने र जेठ महिना भित्र सम्पन्न गर्ने नीति अनुसार नगरपालिकाले योजना कार्यान्वयनलाई तिव्रता दिएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो । नगरपालिकामा दोस्रो चौमासिक सम्म सुस्त गतिमा योजना कार्यान्वयन भएको नगरपालिकामा दोस्रो चौमासिकको साढे एकमहिनाको अवधिमा योजना कार्यान्वयनले तिव्रता लिन थालेको हो । पुसको पहिलो साता सम्म पूर्वाधार तर्फका एकसय भन्दा वढी योजनाहरुको सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् ।

भने ३८ वटा योजनाहरु सम्पन्न भई फरफारक समेत भएको बेनी नगरपालिकाका योजना शाखाका खरिदार चन्द्रदत्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार योजनाको उपभोक्ता समिति गठन र सम्झौता धमाधम भइरहेका छन् ।

नगरका १० वटै वडा र नगरपालिकाबाट विनियोजन भएका ६८ भन्दा वढी योजनाहरुको उपभोक्ता सँग सम्झौता गरी कार्यान्वयन प्रक्रियामा पुगेको खरिदार शर्माले जानकारी दिनुभयो ।

असार विकासलाई न्यूनिकरणका लागि नगरपालिकाले जेठ मसान्त सम्ममा सवै योजनाहरु सम्पन्न गर्ने लक्ष्य अनुरुप योजना कार्यान्वयनमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

केही वडाका योजनाको उपभोक्ता समिति गठन गर्न वाँकी रहेको र पुस मसान्त सम्म सवै योजनाको उपभोक्ता समिति गठन गरी सम्झौता पनि भइसक्ने उहाँले जानकारी दिनुभयो ।