आश्रमको फितलो व्यवस्थापन गरेर विवाद मुछिएको शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !

विकल्प न्यूज/बेनी
पुस १३ गते । गलेश्वर स्थित ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापन गरेर ज्येष्ठ नागरिकहरुलाई अभाव,पीडा र दुःखमा वस्न बाध्य पारेर विवादमा मुछिएको गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमले गल्ती ढाकछोप गर्न विज्ञप्ती निकालेका छन् ।

वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका कमिकमजोरी सुधार गर्नुको साटो गलेश्वर शिवालय क्षेत्र विकास कोष ढाकछोपमा लागेको छ । नवविकल्प डटकम र म्याग्दी अनलाईन डटकमले ज्येष्ठ नागरिक आश्रममा सुविधासम्पन्न भवनमा खालि कोठा बन्द गरि राखिएको र छाप्रोमा कष्टकर तवरले वृद्धा बस्नुपरेको समस्या उजागर गरि समाचार प्रकाशन गरेका थिए ।साथै ज्येष्ठ नागरिक आश्रमले आफैले निःशुल्क रुपमा ज्येष्ठ नागरिकहरुलाई गास, बास र कपासको बन्दोबस्त मिलाएको र सो शिर्षकमा ठुलो रकम खर्च भएको देखाएपनि व्यवहारिक रुपमा आश्रमले भनेजस्तो निःशुल्क सुविधा नदिएको भेटिएपछि समाचार बाहिर ल्याईएको थियो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई समेत बास्तविक अबस्थाको अवलोकन गराएर वृद्धवृद्धाहरुले पोखेका गुनासाहरुलाई समेत सम्बन्धित निकायको ध्यानकर्षण गराउने उदेश्यले प्रकाशित समाचारलाई खण्डन गर्दै पुस १३ गते गलेश्वर शिवालय क्षेत्र विकास कोष र ज्येष्ठ नागरिक आश्रमले विज्ञप्ती निकालेका हुन् ।

दुई अनलाईनमा प्रकाशित समाचार भ्रामक, पुर्वाग्रही रहेको आरोप लगाईको सो विज्ञप्तीमा आश्रम र कोषका पदाधिकारीलाई नभेटिकन वृद्धवृद्धाको अबस्था अवलोकन र गुनासा सुन्ने पत्रकारहरुको कार्यलाई नियोजित भनि हास्यास्पद बुँदा उल्लेख गरिएको छ ।

सुविधासम्पन्न आश्रमका कोठा खालि हुँदा आश्रम परिसरकै छाप्रोमुनी राखिएकि महिलालाई मानसिक सन्तुलन ठिक नभएको भनेर विज्ञप्तीमा दावि गरेको आश्रम व्यवस्थापन समितिले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई उपचार र स्यहार सुसार गर्नुको साटो झनै दयनिय अबस्थामा पु¥याउनुले आश्रमको फितलो व्यवस्थापनलाई थप प्रष्ट पारेको छ । विज्ञप्तीमा गलेश्वरको राम्रा कुरा मात्र बाहिर ल्याउने र नकरात्मक कुराहरु बाहिर ल्याउन नहुने आशय व्यक्त गरिएको छ । 

समाचारमा उल्लेख गरिएका आश्रमका कमिकमजोरी बारे अध्यक्ष रुद्रबहादुर केसीले टेलिफोन मार्फत आफुले पारिवारीक कारणले समय दिन नपाएकाले कमिकजोरी भएको स्विकार गर्ने र फेरी विज्ञप्ती मार्फत कमजोरी ढाकछोप गर्नुले कोष र आश्रम व्यवस्थापनको नेतृत्वको दोहोरो चरित्रलाई छर्लंग पारेको छ ।

स्मरण रहोस, आश्रममा बस्दै आएका वृद्धवृद्धाबाट विजुलीको महशुल अशुली गर्ने र कोठा माग गर्दा ७ लाख सम्म पैसा माग्ने गरेको गुनासाको अडियो/भिडियो सुरक्षित रहेको छ । विज्ञप्तीमा भनिए जस्तो एकतर्फी रुपमा मात्रै समाचार संकलन नगरि वृद्धवृद्धाको दयनिय अबस्थाबारे कोषका संरक्षक समेत रहेका प्रजिअलाई स्थलगत अवलोकन गराएर र कोष र ज्येष्ठ नागरिक आश्रमका उपलब्ध पदाधिकारीहरुको प्रतिकृया र छलफल समेत गरेर समाचार बाहिर ल्याईएको थियो ।