ताकममा आयोजित स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी लाभान्वित (भिडियो /तस्विरसहित)

विकल्प न्यूज/बेनी
मंसिर २९ गते ।              लायन्स क्लब अफ बेनी पिस सिटीले धौलागिरि गाउँपालिका ७ ताकममा आयोजना गरेको दुइदिने वृहत स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी सर्वसाधारणहरुले स्वास्थ्य सेवा लिएका छन् ।

धौलागिरिका दुर्गमभेगका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य सेवाप्रदान गर्ने उद्देश्यले क्लबले विशेषज्ञ सेवा सहितको वृहत स्वाथ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा मेडिकल कलेज पोखराका स्त्रीरोग विशेषज्ञ डा. सविता थापा,मेडिसिन तिर्थलाल उपाध्याय,हाडजोर्नी डाक्टर कृष्णबहादुर विष्ट,रोडियोलोजी डा. नवराज पौडेल,बालरोग डा. रासनी बास्ताकोटी,छाला तथा यौनरोग डा. सौरभ अर्याल,नाककान,घाटी डा. पुशेव्र शाह, र दन्तरोग टिकाराम गुरुङ सहित २३ जनाको चिकित्सकको टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।  शिविरमा नाककान घाटीका दुईसय १०,हाडजोर्नी दुइसय ७०,छाला तथा यौन रोगका एकसय पचास,पेट,छाती र मुटी रोगी,तिनसय,दन्त सम्बन्धि दुइसय पचास र स्त्रीरोग दुइसय पचास जनाले शिविरबाट सेवा लिएको क्लबका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । यसै गरी शिविरमा दुइसय जनाको भिडियो एक्सरे गरिएको उहाँले जानकारी दिनुभयो । ताकम,मुना,लुलाङ,गुर्जा र मुदीबाट सर्वसाधारणहरु स्वास्थ्य सेवा लिन शिविरमा आएका थिए । शिविरमा विरामीहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो । शुक्रबार शिविरको उद्घाटन गर्नुहुँदै संविधानसभाका सदस्य नवराज पौडेलले लायन्सले दुर्गम भेगका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न शिविरको आयोजना गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । पैसा खर्च गरेर सहरबजार पुग्न नसक्ने सर्वसाधारणहरुले शिविरबाट फाइदा लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पैसाको अभावमा रोग पालेर बसेका दुर्गमका सर्वसाधारणहरुलाई शिविरबाट ठूलो राहत महशुष गर्ने गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । सरकारले गर्नुपर्ने काम लायन्स क्लबले चन्दा सहयोग जुटाएर दुर्गम भेगमा शिविर सञ्चालन गर्नु आफैमा नमुना कार्य भएको उहाँले बताउनुभयो । क्लबका संस्थापक तथा ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यले दुर्गमका सर्वसाधारणहरुलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन व्यक्तिगत खर्चमा चन्दा सहयोग जुटाएर शिविर सञ्चालन गरेको बताउनुभयो । शिविरबाट गरिब र विपन्नहरुले फाईदा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रविन्द्र श्रेष्ठले सर्वसाधारणहरुलाई शिविरबाट फाइदन लिन अनुरोध गर्दै धौलागिरि गाउँपालिकाका सर्वसाधारणहरु मेडिकल कलेज पोखरामा उपचार गर्न आएमा १० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

क्लबका अध्यक्ष श्रेष्ठको अध्यक्षता,गापा अध्यक्ष पुनको स्वागत र क्लबका सचिव सन्दीप खत्रीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
ओमकुमारी शान्तिकोष सहआयोजक भएको शिविरको धौलागिरि जन युवाक्लब ताकम र स्थानीय आमा समुहले व्यवस्थापन गर्नुभएको थियो । क्लब र चिकित्सक सहितको टोलीलाई ताकमवासीहरुले नौमति बाजाले भव्य स्वागत समेत गरेका थिए ।
https://www.youtube.com/watch?v=epljQOno6yk