एक जना गुरुले ११औं दक्षिण एसियाली खेलकुद (साग)का लागि जुत्ता किनेका रहेछन्, तर प्रयोग भएन । लामो समय कुनै कुनामा थन्केर बस्यो ।
करिब एक वर्ष पहिले उनै गुरुले त्यो जुत्ता नेपालकी बलवान महिला तारादेवी पुनले उपहार पाइन् । र, त्यही जुत्ता लगाएर १३ औं सागको भारोत्तोलनमा काश्य जितेकी छिन् ।
तर जुत्ताको कथा भने अर्कै छ ।
यो जुत्ता उनले ३ पटक सिलाएर लगाएकी हुन् । ‘त्यो जुत्ता तीन पटक सिलाएँ । ग्लुले त कति चिप्काएँ, चिप्काएँ’, उनी भन्छिन्, ‘अन्तिममा त्यो जुत्ता पनि चिप्लियो । त्यही भएर पनि होला, टार्गेट पूरा गर्न सकिनँ ।’
शनिबार प्रतिस्पर्धा गर्दैगर्दा उनले लगाएको जुत्ताको सोल केही उप्किएको प्रष्टै देखिन्थ्यो ।
उनका लागि जुत्ता नआएको भने होइन, आएकै हो । तर ३८ नम्बरको जुत्ता लगाउने तारादेवीले पाइन् ४५ नम्बरको । भन्छिन्, ‘आएको जुत्ता पनि मिलेन । त्यसैले सोल पनि उप्किन लागिसकेको त्यही जुत्ता लगाएर प्रतिस्पर्धा गरें ।’
तारादेवीले काश्यमा चित्त बुझाइन् ।
‘लक्ष्य पूरा गर्न सकिनँ’
तारादेवीको १३औं सागमा लक्ष्य थियो रजत । तर काश्य पदकमा सीमित हुन पुगिन् । ‘टार्गेट त रजत पदक थियो । खोइ, कहाँ कमजोरी गरेँ थाहा छैन,’ पुनले आत्मसमीक्षा गरिन्, ‘गुरुहरुले दिएको टार्गेट पनि पूरा गर्न सकिनँ ।’
उनको मनमा कुरा खेलिरहन्छ, अभ्यासकै क्रममा बिरामी परेकाले पो हो कि ? ‘यो लेबलको पर्फमेन्स मेरो होइन । बिरामी नभएको भए अझै राम्रो गर्न सक्थें कि ? उनी भन्छिन्, ‘हुन त लास्टको लिफ्ट मैले बिगारेकै हो, त्यो स्वीकार्नैपर्छ ।’
‘आमालाई खेल देखाउन पाएँ’
म्याग्दीको विकट गाउँमा छ पुनको घर । उनकी आमा त्यही गाउँमा बस्छिन् । र छोरीलाई भनिरहन्छिन्, ‘धेरै नखेल अब । गाउँ फर्क र बिहे गर ।’ कहिलेकाहीँ पुनलाई आमाको मायाले सताउँदा फोन गर्न खोज्दा पनि लाग्दैन ।
तर यस पटकको सागमा भने तारादेवीले आमाकै सामुन्ने पदक पहिरिइन् । आँखाको समस्या भएका कारण पोखरा आएकी आमाले छोरीको सफलता आफ्नै आँखाले देख्न पाइन् ।
‘मेरालागि यो ठूलो संयोग हो । आमाले मेरो खेल हेरेको कमै क्षण छन्,’ केही भावुक बन्दै भन्छिन्, ‘संयोग मान्नुपर्छ यो पटक आमाले मात्रै होइन, परिवारका सबैले खेल हेर्नु भयो । त्यही भएर बढी नर्भस भएर पनि खेल राम्रो गर्न सकिनँ कि ?’
कुन पोशाक लगाएर जाने ?
स्वर्ण जित्न नसकेकोमा दुःखी उनलाई शनिबार साँझबाट अर्को तनाव थपिएको छ, ‘साग पोशाक ।’
पोखरा माटेपानीमा जारी भारोत्तोलनका सबै खेल आइतबार सकिँदैछन् । र आयोजकले उर्दी लगाएको छ, ‘अन्तिम दिन सबै साग खेलाडी पोशाकमा आउनू ।’
उनी दोधारमा छिन्, ‘कुन पोशाक लगाएर जाने ?’
सागका लागि उनलाई पोशाक पनि आएको छ । तर जुत्ता जस्तै साइज नमिल्ने । उनकै शब्दमा भन्ने हो भने, उनका लागि ठूलो मात्रै होइन, अत्ति ठूलो पोशाक आएको छ ।
मेडल लिने बेलामा लगाएको पोशाक एक जना बहिनीको भएको खुलाउँदै उनले भनिन्, नाप्न त ३/३ चोटि नापेको हो । तर मेरो ट्रयाकसुट त घुँडाभन्दा मुनि आउँछ ।’
copy onlinekhabar