जलजलामा आयोजना हुने गौमहोत्सवको तयारी तिव्र

विकल्प न्यूज/विकल्प न्यूज
मंसिर १३ गते ।
पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव हुने मिति नजिँदै जाँदा आयोजकले तयारीलाई तिव्र पारेको हो ।

मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा आयोजना हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको प्रचारप्रसार,पत्रचार, भेटघाट,आयोजक सदस्यता वितरण र महोत्सव स्थल निर्माणलाई तिव्र पारिएको आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौं,पोखरा,चितवन,म्याग्दी र बागलुङ लगायत देशभर नै महोत्सवको प्रचारप्रसारलाई तिव्र पारिएको छ । प्रतिव्यक्ती पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग करिब आठ सय जना आयोजक समितिको सदस्य भइसकेको आचार्यले बताउनुभयो ।

महोत्सवलाई सफल बनाउन सबै क्षेत्रबाट तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न नेपालमै पहिलोटपक गौमहोत्सवको आयोजना गर्न लागिएको हो ।

महोत्सवलाई सफल पार्न भोली शनिबार मिलनचोकमा धाईरिङवासीहरुको आमभेला ढाकिएको महोत्सवका सह अध्यक्ष शेरबहादुर केसीले बताउनुभयो । आमभेलाबाट महोत्सवलाई आवश्यक पर्ने विभिन्न २८ वटा विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिने उहाँले जानकारी दिनुभयो ।
गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो । स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।