लुङ्दी जलजला सहकारीले गौमहोत्सवलाई १० लाख सहयोग गर्ने

विकल्प न्यूज/बेनी
मंसिर ८ गते । जलजला गाउँपालिका ७ मिलनचोकमा रहेको लुङ्दी जलजला बहुउद्देश्यीय सहकारी संस्थाले जलजलामा आयोजना हुन लागेको पहिलो गौमहोत्सवलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सहकारीको शनिवार सम्पन्न ११ औं वार्षिक साधारणसभाबाट मंसिर १९ देखि २६ गते सम्म मिलनचोकमा हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवलाई उक्त रकम सहयोग गर्ने निर्णय भएको सहकारीका प्रबन्धक टेकनारायण आचार्यले जानकारी दिनुभयो ।

१० लाख सहयोग गर्ने सहकारीलाई महायज्ञमा एकदिन नायक बनाइने महोत्सवका उपाध्यक्ष शिव जिसीले बताउनुभयो । सहकारीले गौशालालाई यस अघि पनि आर्थिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

यसै गरी सहकारीको साधारणसभाको उद्घाटन गर्नुहुँदै जलजलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सहकारीले ग्रामिण क्षेत्रमा रहेको पुँजीलाई संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

सहकारीले ग्रामिण जनताको जिवनस्तर उकास्न टेवा पु¥याएको बताउँदै उहाँ सहकारी मार्फत सामुहिक लगानीलाई जोड दिनुपर्ने उहाँको भनाई थियो ।

सहकारीले गत आर्थिक वर्षमा दुई करोड ९२ लाख ४७ हजार चारसय ९८ रुपैयाँ लगानी गरेको कोषाध्यक्ष बमबहादुरले पेश गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । साधारणसभामा सचिव बलिभद्र कँडेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको अध्यक्ष राजु आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभामा शेयर सदस्य मुकुन्द प्रसाद आचार्यको शुभकामना र सहकारीको उपाध्यक्ष उषा क्षेत्रीले धन्यबाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीको चुक्ता पुँजी एक करोड ४५ लाख ५८ हजार पाँचसय रुपियाँ रहेको सहकारीले जनाएको छ ।