को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख शेरचन ?

विकल्प न्यूज/बेनी
कार्तिक १९ गते । गण्डकी प्रदेश प्रमुख नियुक्त भएका अमिक शेरचन २००६ सालमा म्याग्दीको ओखरबोटमा जन्मिएका हुन् । २०१७ सालदेखि नै उनी राजनीतिमा सक्रिय थिए । १६ वर्ष भूमिगत र ३ वर्ष जेल जीवन बिताएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।

२०६३ सालमा तत्कालीन नेकपा माओवादीसँग पार्टी एकता हुनुअघि उनी तत्कालीन नेकपा एकता केन्द्रको चुनावी मोर्चा जनमोर्चा नेपालका अध्यक्ष थिए ।

२०६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरचन उपप्रधानमन्त्री बनेका थिए । २०६४ को संविधानसभा चुनावमा चितवन क्षेत्र ५ बाट विजयी भएका थिए ।

उनले तत्कालीन संविधानसभाको राष्ट्रिय हित संरक्षण समिति सभापतिको भूमिकामा काम गरेका थिए । त्यसबेला उनले प्रत्येक नागरिकलाई सैन्य तालिम दिनुपर्ने भनी गरेको प्रस्ताव विवादमा परेको थियो । सरकारले प्रदेश प्रमुखमा सिफारिस गर्नुअघिसम्म उनी पार्टीमा भूमिकाविहीन जस्तै थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि शेरचनलाई आमन्त्रित स्थायी समिति सदस्य बनाइएको थियो । त्यसप्रति उनले असन्तुष्टि जनाउँदै आएका थिए । सभार कान्तिपुर