कमल खत्री /बेनी
कार्तिक १० गते ।
तिहारको महत्वपूर्ण पक्ष मानिएको देउसी भैलोको स्वरुप फेरिन थालेको छ । परम्परागत रुपमा खेलिँदै आइएको देउसी भैलोमा आधुनिकताको प्रभाब बढेसंगै यसको उदेश्य फेरिएको छ भने मौलिकता हराउँदै जान थालेको हो ।
तिहारमा हरेक घरघरमा पुगेर मौलिक कला र संस्कृतिलाई समावेश गरि देउसी भैलो मार्फत आसिक (आशीर्वाद) संगै मनोरञ्जन दिने परम्परागत संस्कृति रहेपनि पछिल्लो समय भने देउसी भैलोको परम्परागत मुल्य मान्यता औपचारिकतामा सिमित हुन थालेको चिन्ता प्रकट हुन थालेको छ ।
म्याग्दी सदरमुकाम बेनीका पुराना कलाकार प्रकाश कुमार श्रेष्ठले तिहारमा हुने देउसी भैलोको मौलिकता हराउँदै जान थालेको चिन्ता व्यक्त गर्नुभयो । ‘‘ मादल, हार्मोनियम र बाँसुरी बजाउने, युवायुवति मिलेर देउसी भैलोमा गीत गाउँने र नाच्ने गरि देउसी भैलो खेलिन्थ्यो, अहिलेत देउसी भैलो भनेको औपचारिकता मात्रै छ, अरु सबै रेकर्ड गरिएका गीतहरुमा नृत्य देखाउने प्रचलन बढेको छ, यसले गर्दा देउसी भैलोको भाव नै मेटिने खतरा बढेको छ’’–उहाँले भन्नुभयो ।
परम्परागत रुपमा देउसी भैलो खेल्ने समूह हरेक घरघरमा पुग्ने गर्थे । घरको आगनमा पुगेर दुखःसुखका कथाहरु देउसी भैलो मार्फत व्यक्त गर्ने चलन थियो ।
देउसी भैलोमा पहिलो प्राथमिकता घरधनी र सबै जनालाई गीत मार्फत नै आशीर्वाद दिने, स्वागत गर्ने, विदाई गर्ने चलन रहेपनि पछिल्लो समय यस्तो प्रचलन हराउँदै जान थालेको हो । अहिले शहरी क्षेत्रमा खेलिने अधिकाँश देउसी भैलोमा मौलिकता हराउँदै जान थालेको र विकृति भित्रन थालेको कलाकार श्रेष्ठको भनाई छ । खासगरि शहरी क्षेत्रमा विभिन्न समुहले आर्थिक संकलनलाई मात्रै ध्यानमा राखेर देउसी भैलो खेल्ने संस्कारले बढवा पाएको छ ।
घरघरमा पुगेर खेलिने देउसी भैलो चोक–चोकमा पनि नपुगिकनै निश्चित ठाउँमा खेल्ने र घरघरमा पुगेर पैसा लिने गरेको देखिएको छ ।
‘‘कम्तीमा हरेक चोकमा पुगेर देउसी खेलेर दान उठाए राम्रो हुने हो, तर देउसी भैलोको रौनकताले नछुने ठाउँसम्म पुगेर दान माग्ने गरेको देखियो, यसले देउसी भैलो जस्तो सयौँ बर्ष पुरानो संस्कृतिको महत्वलाई ओझेलमा पार्छ’’– नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुर प्रसाद आचार्यले भन्नुभयो । उहाँले देउसी भैलोमा रेकर्ड गरिएका गीतहरुमा मात्रै नृत्य देखाउन प्रचालन बढ्दा वास्तविक मर्म र महत्व हराएर जाने खतरा बढेको बताउनुभयो । शहरी क्षेत्रमा विभिन्न समुहले प्रदर्शन गर्ने देउसी भैलो कला संस्कृति संरक्षणमा भन्दा पनि रेकर्ड गरिएका गीतमा नृत्य देखाएर मनोरञ्जन दिनेतर्फ मात्रै केन्द्रित भएको पाईएको छ । देउसी भैलोमा आफ्नो इच्छा, क्षमता र श्रद्धाले दान दिन पाउनुपर्ने भएपछि अहिलेका देउसी भैलोमा करकाप पार्ने गरेको गुनासा पनि बढ्न थालेका छन् । कतिपय ठाउँमा जवरजस्ती चन्दा उठाउँने गरेको गुनासाहरु पनि बढ्न थालेको छ । आर्थिक संकलनलाई मात्रै जोड दिएर देउसी भैलो खेल्ने प्रचलनको कारण मौलिकता मासिने खतरा बढेको भन्दै देउसी भैलोबाट मनोरञ्जन दिने र कला संस्कृति संरक्षणतर्फ ध्यान दिनुपर्ने आवाजहरु उठ्न थालेका छन् ।
पछिल्लो समय देउसीभैलोलाई मनोरञ्जनसंगै सामाजिक काममा सहयोग जुटाउने माध्ययमको रुपमा समेत लिन थालिएको छ ।
खासगरि सार्वजनिक महत्वको उदेश्य पुर्तिको लागि विभिन्न संघ संस्था र समूहहरुले देउसी भैलो खेलेर आर्थिक संकलन गर्ने गरेका छन् । सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक माविले विद्यालयमा शैक्षिक विकासका लागि अक्षयकोष स्थापना गर्ने उदेश्यले देउसी भैलो सञ्चालन गरेको विद्यालयका शिक्षक सचिन शाक्यले बताउनुभयो ।
उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी र अभिभावकहरुको समेत सहभागितामा कला संस्कृतिको संरक्षण संगै अक्षयकोष स्थापना गर्ने उदेश्यले देउसी भैलो सञ्चालन गरिएको जानकारी दिनुभयो ।
बेनीमा क्षत्री समाज म्याग्दीले बहुउदेश्यीय भवन निर्माणमा लागेको ऋण तिर्नको लागि आर्थिक संकलन गर्न देउसी भैलो सञ्चालन गरेको छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा विपन्न परिवारका विरामीको उपचारमा सहयोग जुटाउन देउसीभैलो आयोजना गरिएको छ ।
रघुगंगा विद्यार्थी मञ्च मुक्तिधाम मावि शाखाको आयोजनामा सञ्चालन गरिएको देउसी भैलो कार्यक्रम मार्फत संकलन हुने रकमलाई भगवतीका मिर्गौला पीडित २६ बर्षिय ठाकुर परियार र पिप्लेकी क्यान्सर पीडित ४२ बर्षिय डिलमाया वि.कको उपचारमा सघाइने शाखाका अध्यक्ष विवेक चन्दले जानकारी दिनुभयो ।
अहिले अधिकाँश देउसी भैलोको प्रमुख उदेश्य सामाजिक कार्यहरुको लागि आर्थिक संकलनमै केन्द्रित रहेको पाईएको छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको पाईन्छ ।
शहर देखि गाउँसम्म देउसी भैलोको रौनकता
तिहारको सुरुवात संगै शहरदेखि गाउँसम्म देउसी भैलोको रौनकता छाएको छ । विभिन्न समुहले देउसी भैलो खेल्न थालेपछि गाउँ बस्तीहरु संगीतमय बनेका छन् ।
बालबालिका देखि युवायुवती र बृद्धबृद्धाहरुलाई समेत देउसी भैलोले छोएको छ । तिहारको अवसरमा विद्यालयले सञ्चालन गरेको देउसी भौलोमा सहभागि भएका बेनी सामुदायिक माविका कक्षा ५ का विद्यार्थी अभिशेक पौडेलले रमाईलो हुने र आफु नाच्न जान्ने भएकाले आफु सहभागी बनेको बताउनुभयो । अहिले बालबालिकादेखि युवायुवतिहरु समेत आ–आफ्नो समुहमा देउसी भैलो खेलिरहेका छन् ।
जिल्लाको ग्रामिण भेगमा सामुदायिक विद्यालयमा शैक्षिक सुधार र निजि स्रोतको खर्च जुटाउनको लागि देउसी भैलो सञ्चालन भएका छन् । ग्रामिण भेगमा युवा क्लब, आमा समुह र विद्यालयहरुले सञ्चालन गरेको देउसी भैलोमा परम्परागत लोपउन्मुख पुख्र्यौली नाच, थाली नाच लगायतका कला संस्कृतिले समेत स्थान पाएका छन् ।
राति ९ बजेसम्म मात्रै देउसी भैलोको समयसिमा
तिहारको अवसरमा देउसीभैलो खेल्नका लागि म्याग्दीमा रातको ९ बजेसम्म्म समयसिमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिहारलाई ब्यवस्थित रुपमा मनाउनका लागि ९ बजेसम्म मात्र देउसीभैलो खेल्न सार्वजनिक आग्रह गरेको हो ।
साँस्कृतिक महत्व बोकेको तिहार पर्वमा देउसीभैलोसंगै अन्य साँस्कृतिक कार्यक्रमहरु राति अवेर सम्म सञ्चालन गर्दा शान्ति सुरक्षामा असर पर्ने र विकृति बढ्ने भएकाले निर्धारित समयसिमाभित्र देउसी भैलो खेल्न जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।