ठाकुरप्रसाद आचार्य /मुस्ताङ
कार्तिक ९ गते ।
नेपालको उत्तरी मुस्ताङ स्थित कोरला पुग्ने र तस्विर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गर्ने इच्छा प्रायजसो नेपालीहरुको छ । अहिलेको दशैं – तिहार विदालाई सदुपयोग गर्दै चीन र नेपालको सीमाना कोरला पुग्ने नेपालीहरुको संख्यामा निकै वृद्धि भएको छ ।
दुई देश विच कोरला नाका खुलाउन चर्चा भएसँगै कोरला पर्यटकीय गन्तव्य बन्न थालेको हो । मुस्ताङको भ्रमणमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु कोरला पुग्न थालेपछि यो क्षेत्र पर्यटनको केन्द्र बन्न थालेको छ । बेनी–जोमसोम कोरला सडकको ट्रयाक खुलेसँगै यात्रा सहज भएपछि कोरला पुग्ने पर्यटको संख्यामा वृद्धि भएको हो । थकाली सभ्यता,कला संस्कृति र मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ । कोरला नेपाल र चीन विचको सामरिक महत्वको पुरानो व्यपारिक नाका हो । हाल यो नाका बन्द छ । कोरला नाका खुलाउन दुई देशका विच भएका छलफल र कोरलाको चर्चा परिचर्चाले यहाँ आउने पर्यटकको संख्यामा निकै वृद्धि गराएको हो । जोमसोमबाट माथि लागेपछि देखिने प्राकृतिक सुन्दरता, पहाड खोपेर बनाइएका सयौंको संख्यामा देखिने प्राचिन गुफा,गुम्बा,थकाली भेषभुषा,रहनसहन र कला संस्कृतिले पर्यटकको यात्रालाई रोमाञ्चक बनाउने गर्दछ ।
जोमसोमबाट एकसय १० किलोमिटर कच्ची सडकको यात्रा गरेपछि कोरला पुग्न सकिन्छ । पहिलो दिन लोमान्थाङको बास पछि भोलीपल्ट कोरला पुगेर फेरी जोमसोम फर्किन सकिन्छ । बेनी –जोमसोम कोरला सडक आयोजनाले अधिकांश भागमा सडकलाई फराकिलो बनाउनुका साथै ग्राभेल गरेका कारण यात्रा सहज छ ।
कोरला नाकाको अध्ययन,अवलोकन र प्राकृतिक सुन्दरतामा रमाउन दैनिक सयौंको सख्यामा पर्यटकहरु आउने गरेको लोमान्थाङका स्थानीय टासी गुरुङले बताउनुभयो । चीन तर्फको भूभागमा निर्माणभएका ठूलाठूला संरचनाहरुले यहाँ आउने नेपालीहरुलाई लोभ्याउने गरेको छ । तर नेपाल तर्फ कुनै संरचना नहुँदा भने नेपालीहरु खिन्न भएर फर्किने गर्दछन् । पारी चिनियाँ भण्डा फरफराउँदा नेपाली भू–भाग रित्तो छ ।
समुन्द्र सतहबाट करिब ४ हजार आठसय मिटरको उचाईमा रहेको कोरालामा समथर ठूलो भूभाग छ । वरीपरी लहरै देखिने हिमाल र रमणीय भौगोलिक भूभागले पर्यटकहरु कोरला पुगेपछि आनन्द महशुस गर्दछन् ।
कोरला पुग्ने र २४ नम्बर पिल्लरमा उभिएर नेपाली झण्डा फरफराउने चाहना बोकेर नेपाली पर्यटकहरु कोराला पुग्ने गरेका छन् । यहाँ उभिएर नेपाली झण्डा फरफराउँदा देशको माया झन बढ्यो म्याग्दीका संचारकर्मी राकेश सापकोटाले भन्नुभयो, ‘साच्चिकै मलाई आज गौरब महशुस भएको छ ।’
साच्चीकै यो भू–भाग स्वर्ग जस्तै लाग्यो पहिलो पटक कोरला पुग्नुभएका काठमाण्डौंका दिपक श्रेष्ठले भन्नुभयो ‘सरकारले यहाँको भौतिक पूर्वाधार निर्माणमा जोड दिनुका साथै नाका खुलाउन सक्ने हो भने यो क्षेत्र व्यापारिकका साथै पर्यटनको केन्द्र पनि बन्ने निश्चित छ ।’ बेनी देखि कोरला सम्मको सडक कालोपत्रे गरी यातायात सहज बनाउन सक्ने हो भने कोरलामा पर्यटकको आइरो नै लाग्ने संभावना रहेको उहाँले बताउनुभयो । नेपाल र चीनको सीमानामा राखिएको २४ नम्बर पिल्लर बाहेक यहाँ कुनै नेपाली पहिचान झल्कीने संरचना छैन । यति धेरै चर्चामा रहेको कोरलामा नेपालको राष्ट्रिय भण्डामा समेत फरफराएको नदेख्दा दुःख लागेको कोराला पुग्नुभएका काठमाण्डौंका आलोक श्रेष्ठले बताउनुभयो । सम्बन्धित निकायले यहाँ नेपाली झण्डा फरफराउने व्यवस्था चाँढै गरोस् उहाँले भन्नुभयो ।
कोरलाको चर्चा सँगै यहाँको भ्रमणमा आउने नेपालीहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको इलाका प्रहरी कार्यालय छोसेरले जनाएको छ । यो सिजनमा स्वदेशी तथा विदेशी गरी दैनिक छ सयको हारहारीमा पर्यटकहरु आउने गरेको इलाका प्रहरी कार्यालय छोसेरका प्रमुख श्याम थापाले बताउनुभयो ।
कोरला पुगेका नेपाली पर्यटकहरु । तस्विर ठाकुरप्रसाद आचार्य\मुस्ताङ