विकल्प न्युज
दरबाङ, असोज ११ गते ।
म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका दुर्गम भेगलाई लक्ष्यित कार्यक्रमको आयोजना गरिएको हो । शिविर आइतबार सम्म संचालन हुनेछ ।
शनिबार देखी सुरु भएको धवलागिरी गाउँपालिका–६ मराङकी ७९ बर्षिया नरदेबी केसीको दाँतको उपचार गरी शिविरको उद्घाटन गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विदेशमा बगाएको पसिनाको कमाइ स्वास्थ्य क्षेत्रमा सहयोग गरेर सरकारको कर्तव्य व्यक्तीले गरेको बताउनुभयो ।आर्थिक अभावका कारण अस्पतालको पहुँच भन्दा बाहिर रहेका दुर्गम गाउँका गरिब विपन्न परिवारका बिरामीलाइ ठुलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
शिविर आयोजक समाजसेवी एवम् मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका मगरले आफ्नो आमाको सम्झनामा अस्पताल जान नसकेका दुर्गम गाउँको गरिब विपन्न परिवारका बिरामीलाइ लक्ष्यित गरी शिविरको आयोजना गरिएको बताउनुभयो । ‘आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम गाउँका गरिब विपन्न परिवारका विरामीलाई लक्ष्यित गरेर परिवारको सहयोगमा आमा पबिसरा रोकाको सम्झनामा शिविरको आयोजना गरिएको हो’ रोकाले भन्नुभयो । छोराछोरीले चाडपर्व र जन्मदिनमा पाएको उपहारबाट बचत भएको पैसा शिविरका लागि सहयोग गरेको जानकारी दिनुभयो । विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका रोकाले आगमी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुने बताउनुभयो । साथै उहाँँले सोही अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले स्वास्थ्य क्षेत्रमा रोका परिवारले पु¥याएको योगदान समाजका लागि उदाहरणिय भएको बताउनुभयो । सरकारको दायित्व परिवारले लिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष रोका मगरको अध्यक्षता ,स्वास्थ्य केन्द्रका पुर्व अध्यक्ष हिरा बहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा दन्त चिकित्सक राजेन्द्र राना मगरको नेतृत्वमा सुर्या थापा लगायत चार जनाको टोलिले सेवा दिएका छन् ।
शिविरमा दन्त परिक्षण,कुहिएको,किराले खाएको दाँत झिक्ने र भर्ने, निशुल्क औषधी वितरण संगै दाँत सम्बन्धी परामर्श लगायतका सेवा उपलब्ध हुने आयोजकले जनाएको छ । कार्यक्रममा आयोजक रोका संगै उहाँकी श्रीमति तिका ,छोरी सृष्टी र छोरा समित रोका, सहयोगी संस्था दरबाङ स्थित लायन्स क्लब,लियो क्लब ,आमा समुह , युवा क्लब,इलाका प्रहरी कार्यालय दरबाङ लगायत विभिन्न संघ संस्थामा कार्यरत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । शिविरको पहिलो दिन तीन सय भन्दा बढीले सेवा लिएका छन् ।