साधन राम्जाली/ विकल्प न्युज
म्याग्दी,भदौ ४ गते ।
छिल्लो समय उच्च शिक्षा हासिल गरेपछि मुलुकभित्र रोजगारी अवसर नभएको भन्दै विकल्पको खोजीमा प्रमाणपत्र बाकसमा थन्काएर पैसा कमाउन विदेशीने युवाहरुको ठुलो जमात छ । तर यहाँका एक युवाको भने न विदेश जाने रहर छ नत सरकारी जागिर कै ! विदेश जाने र धेरै पैसा कमाउने अवसरलाई त्याग्दै आफ्नै गाउँघरमा परिश्रम गर्न भन्दै सहरको बसाई छाडेर गाउँ फर्किएका छन् ति युवा ।
उच्च शिक्षाको प्रमाणपत्र र मासिक डेढ लाख रुपैयाँको व्यवसाय तथा आनन्दमय शहरको बसाईलाई त्यागेर गाउँमा कृषि व्यवसाय गर्ने लक्ष्य सहित बेनी नगरपालिका २ का दिर्घप्रसाद शर्मा गाउँ फर्किनुभएको हो । पढे लेखेको युवा एक्कासी गाउँ फर्किदा सुरुमा गाउँलेहरु शर्मालाई गिज्याए । तर अहिले शर्माको लोभलाग्दो व्यवसाय देखेर छिमेकीहरु पनि चकित छन् ।
शर्मासंग उच्च शिक्षाको प्रमाणपत्र मात्र नभई देशको राजधानी काठमाण्डौंमा मासिक डेढ लाख रुपैयाँ मासिक आम्दानी हुने होस्टेल र रेष्टुरेण्ट व्यवसाय पनि थियो । व्यवसायबाट आम्दानी पनि राम्रै थियो । तर शर्मालाई आफ्नै जन्म ठाउँ फर्किएर कृषि पेशा गर्ने रहर जाग्यो ।
छ बर्ष काठमाण्डौंमा होस्टेल र रेष्टुरेण्ट व्यवसाय अनि सहरको बसाइलाई विट मार्दै शर्माले लभ्लीडाँडामा कृषि व्यवसाय सुरु गर्नुभएको छ । ५१ लाख रुपैयाँ बढी लगानीमा बेनी नगरपालिका २ खबरा स्थित लभ्लीडाँडामा कृषि व्यवसाय सुरुवात गर्नुभएको हो ।
भिडियो
२०७५ माघमा बेनी नगरपालिका २ का झकबहादुर थापा र लिलबहादुर थापाको १४ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा भाडामा लिएर शर्माले व्यवसाय सुरुवात गर्नुभएको हो । जग्गा धनीलाई बार्षिक एक लाख २० हजार रुपैयाँ भाडा तिर्ने सम्झौतामा जग्गा भाडामा लिएको दिर्घप्रसादले जानकारी दिनुभयो ।
रिजाल एग्रो फर्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएका शर्माको फर्ममा अहिले ब्रोइलर दुइहजार र लेयर्स जातका चारहजार गरी ६ हजार कुखुराका चल्ला छन् । साथै बारीमा हजारे जातका केराका बिरुवा शर्माले रोप्नुभएको छ । दिर्घप्रसादलाई यो पेशामा उहाँका तीन दाजुभाइले पनि साथ दिनुभएको छ । ठुलो दाजु विदेशमा हुनुहुन्छ, अन्य दुई दाजु भाईले शर्मालाई सघाएका छन् ।
ठुलो दाई दिपकले विदेशबाट माईला दाई मिनलाल र कान्छा भाई मुकुन्दले स्वदेशमै बसी व्यवसायमा साथ दिनुभएको उहाँले बताउनुभयो । राष्ट्र सेवक कर्मचारी रहेका माइला दाई मिनलाले बेनपा ७ कुरिलाखर्क स्थित रिजाल एग्रो फर्मबाट संचालित फर्ममा दुई हजार ब्रोइलर जातका कुखुरा पालिएको फर्म सम्हाल्दै आउनुभएको दिर्घप्रसादले बताउनुभयो । व्यवसाय सुरु गर्नुभन्दा पहिला बजारको अध्ययन गरेको उहाँले बताउनुभयो । मैले बजारको राम्रो सँग अध्ययन पनि गरेको छु शर्माले भन्नुभयो, ‘उत्पादन गर्न सके बजारको समस्या छैन ।’
न्युजिल्याण्डबाट दुई बर्ष व्यवस्थापन संकायमा मास्टर डिग्री उत्तिर्ण गर्नुभएका कान्छा भाई मुकुन्द पनि दाजु सँगै व्यवसायमा हुनुहुन्छ । न्युजिल्याण्डमा मास्टर डिग्री गरेका कान्छा भाईले पनि व्यवसायमासाथ दिएपछि सहज भएको शर्माले बताउनुभयो । विदेशमा अध्ययन गरेको सीपलाई स्वदेशको आफ्नै व्यवसायमा प्रयोग गर्ने कान्छा भाई मुकुन्द बताउनुहुन्छ । दाईले कृषि व्यवसाय थालेपछि खुसी हुँदै आफू पनि स्वदेश फर्किएको मुकुन्दले बताउनुभयो । विदेशमा गर्ने परिश्रम गाउँमै गर्न सके दामका साथै नाम पनि कमाउन सकिने उहाँले अनुभव सुनाउनुभयो । पढेलखेका युवाहरुले कृषि पेशा गर्नुहुन्न भन्ने भ्रमलाई चिर्न पनि आफूहरु गाउँफर्किएर पेशा सुरु गरेको उहाँले बताउनुभयो ।
प्रमाणपत्र लिएर राम्रो संस्थामा जागिर पाउने संभावना भएपनि कृषि पेशालाई प्रवद्र्धन गर्न र युवाहरुलाई कृषिमा लाग्न प्रेरित गर्न कृषि पेशा थालेको शर्माले सुनाउनुभयो ।
फर्ममा ४ देखी ६ महिनाको विचमा अण्डा उत्पादनको लागि तयारी अवस्थाका कुखुरा छन् । चार भाईको सामूहिक लगानीमा सुरु गरिएको व्यवसायको क्षेत्र बढाउने सोचमा रहेको दिर्घप्रसाद बताउनुहुन्छ । अबको केही समयमा चार हजारबाट बढाएर १२ हजार कुखुरा पाल्ने लक्ष्य लिएको उहाँले भन्नुभयो । कुखुरा पालन ,केरा खेती संगै निकट भविष्यमा लोकल कुखुरा, माछा पालन तथा अर्गानिक तरकारी उत्पादन गर्ने उहाँले योजना सुनाउनुभयो । अहिले फर्ममा हजारे जातका करिब दुई सय बढी केराका विरुवा पनि रोपेको उहाँले बताउनुभयो ।
कुखुरा पालन व्यवसायमा चल्ला हुर्काउनमा ठुलो चुनौती हुने शर्मा बताउनुहुन्छ । कुखुरा पालन जोखिमपुर्ण व्यवसाय भएकाले चल्ला हुर्काउँदा विशेष ध्यान दिनुपर्ने शर्माले बताउनुभयो । व्यवसायको सुरुवातमै राम्रो भएकाले सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । कुखुरापालन व्यवसायमा रोग नलागेमा र मौसमले साथ दिएमा राम्रो आम्दानी हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
कुखुरापालन व्यवसायमा स्याहारलाई प्राथमिकता दिनुपर्ने उहाँले बताउनुहुन्छ । राम्रो स्याहारसुसार भएमा राम्रै आम्दानी हुने उहाँको भनाई छ । कुखुरापालन गर्दा पानी ,औषधि ,दाना र मौसममा ध्यान दिनुपर्नेमा दिर्घप्रसादले बताउनुहुन्छ । चार हजार चल्लालाई सुरुवाती समयमा औषधि उपचार,भिटामिन ,दाना ,पानी र विछ्याउने भुसका लागि मासिक ६ लाख रुपैयाँ बढी खर्च हुने गरेको उहाँले जानकारी दिनुभयो । यो ठुलो खर्च हो । राम्रो भयो भने खर्च गरेअनुसारको नाफा पनि हुने उहाँको भनाई छ ।
खबरामा दैनिक दश हजार अण्डा उत्पादन गरी अण्डा आयातलाई विस्थापित गर्ने लक्ष्य चार दाजुभाइले लिएका छन् । व्यवसाय संचालन गर्न लगानीका लागि बेनीमा रहेका बैंक धाउदा बैंकले नपत्याएको उहाँले गुनासो गर्नुभयो । हामी सर्वसाधरणहरुले केही गर्न खोजेपनि लगानीको समस्या छ उहाँले भन्नुभयो ‘बैंकले मलाई नपत्याए पनि मैले हिम्मत हारिन ।’सरकारले लिएको अनुदान कार्यक्रम पनि वास्तविक किसानको पहुँचमा नपुगेको दिर्घप्रसाद बताउनुहुन्छ । उहाँले स्थलगत अनुगमन नगरी कागजपत्र र भनसुनको आधारमा नक्कली किसानालई अनुदान दिने गरेको बताउनुभयो । नवविकल्प साप्ताहिक पत्रिका