विकल्प न्यूज/बेनी
साउन ३१ गते । पश्चिम म्याग्दीमा निर्माणधिन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको पूर्वाधार निर्माण तिव्र पारिएको छ । धौलागिरि कालिका हाइड्रो कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको मालिका गाउँपालिकाको दुखुबेसीमा रहने आउटलेट र बाधस्थलमा अडिट टनेल बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तिव्र पारेको हो ।
आयोजनाले दुवैतर्फ उपकरण र मजदुरहरु प्रयोग गरेर सुरुङ खन्ने तयारी तिव्र पारिएको आयोजनाका प्रोजेक्ट इन्जिनियर दिपक सापकोटाले बताउनुभयो । असोज वा कार्तिकको पहिलो हप्ताबाट बाट सुरुङ खन्ने तयारीका साथ यतिखेर आयोजनाको अन्य पूर्वाधार निर्माणलाई तिव्र पारिएको छ उहाँले भन्नुभयो । आयोजनाले दुवै तर्फ क्याम्प निर्माण गरिसकेको छ ।
आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १ सय मिटर हेडबाट दुखुबेशी (बलौटे)मा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।
म्याग्दीबाट विभिन्न मुलुकहरुमा रोजगारी र व्यवसायका लागि पुगेका म्याग्देलीहरुको लगानीमा आयोजना बनाउन लागिएको हो । आयोजनामा जिल्लावासीहरुलाई पनि लगानीका लागि प्राथमिकतामा राखिएको छ ।
जिल्लावासीहरुले उत्साहपूर्ण तरिकाले आयोजनामा शेयर लगानी गरेको इन्जिनियर सापकोटाले बताउनुभयो । बेनीको विरेन्द्रचोकमा सम्पर्क कार्यालय खोलेर आयोजनाले जिल्लावासीहरुबाट शेयर संकलन गरिरहेको छ ।
आयोजनाको गत मंसिर २७ गते महिला बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र धौलागिरि कालीका हाइड्रोपावर कम्पनीका अध्यक्ष विनोद कुवँरले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो ।
आयोजना बनाउन ५ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।लामो समयमो विवाद सुल्झीए सँगै आयोजना निर्माणले गति लिएको हो ।
आयोजना बनाउन सानिमा बैंकको नेतृत्वमा ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी हुनेछ । बाँकी १ अर्ब ६४ करोड रुपैयाँ संस्थापकले स्वपुँजी (इक्विटी) लगानी गर्ने भएका छन । चार वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ ।