म्याग्दीका स्थानीय तहमा सवा ५ करोड राजश्व संकलन

साधन राम्जाली /विकल्प न्यूज
साउन २८ गते । म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएका छन् । एक बर्षको अवधिमा एक नगरपालिका सहित ६ स्थानीय तहले करिब सवाँ पाँच करोड रुपैयाँ राजश्व संकलन गरेका हुन ।

स्थानीय तहले दिएको रिपोर्ट अनुसार गत आर्थिक बर्षमा स्थानीय तहको आन्तरिक आम्दानी उत्साहजनक देखिन्छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहले गत आर्थिक बर्षको असार मसान्त सम्म ५ करोड १४ लाख ३५ हजार ८ सय ५५ रुपैयाँ आन्तरिक आम्दानी गरेका हुन् ।

स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर,सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत),बेरुजु , दण्ड जरिवाना, मनोरञ्जन, गिटी बालुवा लगायतबाट उक्त राजश्व संकलन गरेका हुन ।

गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले एक करोड २५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो अनुमानित आय भन्दा बढी हो । अन्नपूर्णले अनुमान गरेभन्दा दोब्बर बढी आन्तरिक आम्दानी गर्न सफल भएको छ ।

गाउँपालिका भित्र रहेका प्राकृतिक स्रोतसाधनको पहिचान र कर संकलनमा कडाई गरेकाले आन्तरिक आम्दानी वृद्धि भएको हो ।
अन्नपूर्णले ५० लाख रुपैयाँ अनुमानित आय प्रक्षेपण गरेको थियो । नयाँ आयको खोजी र कर नीतिमा कडाई गरेकाले राजश्व संकलन वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताउनुभयो ।

पर्यटकीय स्थल पुनहिल र तातोपानी कुण्ड अन्नपूर्णका मुख्य आन्तरिक आम्दानीका स्रोत हुन । यसका साथै नदी किनारका ढुङ्गा,गिटी र बालुवालाई आम्दानीका स्रोतका रुपमा गाउँपालिकाले लिएको छ । पुनहिल र तीन वटा तातोपानी कुण्डलाई गाउँपालिकाले गत वर्ष देखि करको दायरामा ल्याएको हो ।

रघुगंगा गाउँपालिकाले असार मसान्त सम्म अनुमानित आय भन्दा बढी राजश्व संकलन गरेको छ । रघुगंगाले असार मसान्त सम्म ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ६१ लाख ढुङगा गिटी बालुवा विक्रिबाट र १५ लाख अन्य श्रोतबाट गरी ७६ लाख रुपैयाँ राजश्व संकलन भएको छ । रघुगंगाले ३१ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

हामीले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन नयाँ आयको खोजी ग¥यौं प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नभयो, ‘चुस्तदुरुस्त राजश्व प्रशासन अवलम्बन गरेकाले लक्षय भन्दा दोब्बर आन्तरिक आम्दानी बढाउन सफल भएका हौं ।’ यसका साथै गाउँपालिकाको आम्दानी वृद्धि गर्नका लागि व्यवसाय,होमस्टे दर्ता र जुडीबुटीमा कर लिन थालिएको उहाँले बताउनुभयो ।

सर्वसाधारणहरुमा कर शिक्षाको अभाव र करलाई विकास सँग जोड्न नसक्नु कर संकलनका चुनौतीहरु भएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।

जिल्लाकै साधनस्रोत सम्पन्न एकमात्र बेनी नगरपालिकाले दुई करोड तीन लाख २० हजार तिन सय ३० रुपैयाँ राजश्व संकलन गरेको सह लेखापाल निर्मला शर्माले जानकारी दिनुभयो । बेनी नगरपालिकाले गत आर्थिक वर्षमा ३ करोड १३ लाख रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको थियो ।

बेनी नगरपालिकाले लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । नागरिकमा करप्रतिको गलत बुझाईका साथै करको दायरामा ल्याउन नसक्नु मुख्य चुनौतीका रुपमा रहेको सहलेखापाल शर्माको बुझाई छ ।

मंगला गाउँपालकाले गत आर्थिक बर्षमा ३६ लाख रुपैयाँ बढी राजश्व संकलन गरकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा ३६ लाख पचास हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको मंगलाले असार मसान्त सम्म ३६ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरकोे छ ।

तथ्याङक अनुसार मंगला गाउँपालिकाले अनुमानित राजश्व संकलन भन्दा बढी कर उठाउन सफल भएको छ ।
मालिका गाउँपालिकाले पनि एक बर्षको अवधिमा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

गत आर्थिक बर्षमा ३२ लाख ३६ हजार राजश्व संकलनको प्रक्षेपण गरेको मालिकाले असार मसान्त सकिदा ३५ लाख ६५ हजार २ सय ११ रुपैयाँ कर संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार यो राजश्व संकलन गाउँपालिकाले प्रक्षेपण गरेको भन्दा बढी हो ।

नागरिकमा करप्रति चेतना नहुनु ,स्रोत साधन र जनशक्तीको अभाव लगायतका कारण कर संकलनमा समस्या हुने गरको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो ।

जिल्लाकै दुर्गम क्षेत्रमा रहेको धवलागीरी गाउँपालिकाले पनि अनुमानित राजश्व संकलन लक्ष्य भन्दा बढी कर उठाउन सफल भएको छ । २० लाख रुपियाँ राजश्व संकलन गर्ने लक्षय लिएको गाउँपालिकाले असार मसान्त सम्म एक बर्षको अवधिमा गिटी बालुवा विक्रीबाट १ लाख ६५ हजार र अन्य करबाट २६ लाख ५ हजार ३ सय ३० गरी २७ लाख ७० हजार ३ सय ३० रुपैयाँ संकलन गरको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले जानकारी दिनुभयो ।

उहाँका अनुसार गिटी वालुवाको स्रोत कम भएकाले व्यवसाय दर्ता,नविकरण,जन्मदर्ता,नागरिकता दस्तुर,परिक्षा शुल्क र सम्पत्ति मुल्याङ्कन गाउँपालिकाको आन्तरिक आयको स्रोत भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले जानकारी दिनुभयो ।

करलाई विकास सँग जोड्दै नागरिकहरुमा कर शिक्षा प्रदान गर्न सकेमा लक्षय अनुसार स्थानीय तहमा राजश्व संकलन भई आन्तरिक आम्दानी वृद्धि हुने देखिन्छ । त्यसका लागि कर शिक्षाका वारेमा सर्वसाधारणहरुमा जागरण ल्याउन जरुरी छ ।