बेनी–जोमसोम–कोरला सडक ट्र्याक खोल्ने काम अन्तिम चरणमा

विकल्प न्युज /काठमाडौँ

साउन २६ गते । उत्तर दक्षिण व्यापार प्रवद्र्धन गर्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला खण्डको ट्र्याक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ । एउटै मार्गले भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोरको निर्माणले त्रिदेशीय व्यापार प्रवद्र्धन हुनुका साथै नेपालको व्यावसायिक साझेदारका विकल्प पनि प्रशस्त बनाउने छन् ।

बेनी–कोरलाको १८६ किलोमिटर लामो सडकखण्डअन्र्तगत जोमसोम–कोरला खण्डको १४ किलोमिटर ट्र्याक खोल्ने कार्य मात्रै बाँकी रहेको छ । बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजनाका अनुसार जोमसोम–कोरला ११० किलोमिटर खण्डको तीन स्थान गरी जम्मा करिब १४ किलोमिटर ट्र्याक खोल्ने काम मात्र बाँकी छ ।

यो काम आगामी असोजभित्र सम्पन्न हुने बताइएको छ । बेनी–जोमसोम खण्डको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ । आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले सबैभन्दा जोखिम र ठाडो भीर रहेको तीनै स्थानमा ट्रयाक खोल्ने कार्य तीव्र गरिएको बताउनुभयो । घ्याकर–समरसम्मको सात किलोमिटर, झोखोला क्षेत्रमा दुई किलोमिटर र घमी–चराङ क्षेत्रको पाँच किलोमिटर गरी १४ किलोमिटरको ठाडो भीर चिर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको इन्जिनियर यादवले खुलाउनुभयो ।

भौगोलिक विकटता एवं प्रतिकूल मौसमले उक्त खण्डमा वर्षदिनमा पाँच महिना मात्रै सडक निर्माण कार्य सक्रियतापूर्वक हुन्छ । जोमसोम–कोरला क्षेत्रमा मौसम अनुकूल हुँदा बेनी–जोमसोम खण्डको विभिन्न स्थानमा पहिरो गएर निर्माण सामग्री ढुवानीमा समस्या हुँदै आएको छ ।

उक्त खण्डमा सडक स्तरोन्नतिका कार्य पनि धमाधम हुँदै छ । ११० किलोमिटर सडकलाई सातवटा प्याकेजमा विभाजन गरी स्तरोन्नति कार्य गरिँदै छ । आयोजनाका प्रमुख इन्जिनियर मुकुन्द अधिकारी स्तरोन्नतिको गुणस्तर उत्कृष्ट रहेको दाबी गर्नुहुन्छ ।

बेनी–जोमसोम–कोरला सडक विस्तार आयोजना कार्यान्वयन भएको दस वर्ष बितेको छ । सुरुमा २०७६÷७७ मा सम्पन्न हुने लक्ष्य लिइएको थियो तर पछि संशोधन गरी २०७८÷७९ सम्म सक्ने लक्ष्य लिइएको छ । लक्ष्यबमोजिम बेनी–जोमसोम ७६ किलोमिटर समयमै सम्पन्न हुने देखिए पनि जोमसोम–कोरला खण्ड कालोपत्रे हुन अझै केही वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

१८६ किलोमिटर सडकखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ तर हालसम्म दुईवटा पुल मात्रै सम्पन्न भएको छ । १३ वटा पुलको डिजाइन गरिँदै छ । १९ वटा पुल निर्माणाधीन अवस्थामा रहेको प्रमुख इन्जिनियर अधिकारीले बताउनुभयो ।

कालोपत्रे छिट्टै
उत्तर दक्षिण व्यापारिक मार्ग आयोजनाका निर्देशक शिव नेपालले बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर खण्ड कालोपत्रे गर्ने कार्य द्रुत गतिमा अगाडि बढाइएको बताउनुभयो । उक्त खण्डमा कालोपत्रे गर्न चार छुट्टै प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । उहाँले भन्नुभयो, “सडकको सतह बनाउने काम सकिएको छ, केही महिनामै बेनी–जोमसोम खण्डको कालोपत्रे गर्ने कार्य सकिन्छ । ”


तर, सडक विस्तार आयोजनाका प्रमुख इन्जिनियर अधिकारीले भने विभिन्न अवरोधले अपेक्षाकृत काम गर्न नसकिएको बताउनुभयो । उहाँले सडक निर्माणमा आएको कठिनाइ चर्चा गर्नुहुँदै भन्नुभयो, “२०० विद्युतीय खम्बा, बेनी बजारमा चार किलोमिटर लामो खानेपानीको पाइप र कालीगण्डकी प्रसारण लाइनको टावर नहटेसम्म सडक निर्माणले तीव्रता पाउँदैन । ऐतिहासिक महŒवको तातोपानी कुण्ड बीच सडकमै पर्छ, माथिबाट सडक लगे घुमाउरो बढी हुने र बस्ती हटाउनुपर्छ । ”

प्रमुख इन्जिनियर अधिकारीले असोजसम्ममा कालोपत्रे सक्ने लक्ष्य लिए पनि यी समस्या समाधान नभई ठ्याक्कै मिति तोक्न नसकिने जनाउनुभयो । आयोजनाले भने सडकको बीचमै तातोपानी कुण्ड राखेर दुवैतिर लेन बनाउने अवधारणामाथि जोड दिइरहेको छ तर स्थानीयलाई भने उक्त अवधारणाले रिझाउन सकेको छैन ।

सुरुमा मात्र तीन मिटर लम्बाइ रहेको सडकखण्डलाई विस्तार गरी दुई लेन बनाइएको छ । ११ मिटर चौडा गरिँदा आयोजना कार्यान्वयनमा पहिलेको भन्दा बढी अवरोध आएको आयोजनाले जनाएको छ ।

दुई लेनको सडकखण्डमा पर्ने बस्तीका घर टहरा पनि हटाउने कार्य भएको छैन । आयोजनाका इन्जिनियर यादवले घरको सङ्ख्या, क्षेत्रफल र मूल्यबारे सर्भेको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले जिल्लास्थित मूल्याङ्कन समितिको सिफारिसमा सक्दो छिटो मुआब्जा वितरण गरी सडक निर्माणको अवरोध हटाउनमा आयोजना केन्द्रित रहेको जनाउनुभयो ।

समस्याका बीच पनि बेनी–जोमसोम ७६ किलोमिटर सडकको सम्पूर्ण निर्माण आगामी असार महिनाभित्रै सकिनेमा आयोजना निर्देशक नेपाल र प्रमुख इन्जिनियर अधिकारी विश्वस्त हुनुहुन्छ ।

कालीगण्डकी करिडोर राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत आयोजना हो । करिडोरले भारतीय सीमासँग जोडिएको मध्यपश्चिम मधेसको नवलपरासीलाई पहाडी र हिमाली जिल्ला हुँदै चिनियाँ सीमासित जोडेको छ । त्यसको पूर्णताले त्रिदेशीय व्यापारलाई सहयोग अपेक्षा गरिएको छ । पश्चिममा पाल्पा, तनहुँ, स्याङ्जा, गुल्मी, बागलुङ, पर्वत हुँदै हिमाली जिल्ला म्याग्दी र मुस्ताङ उक्त करिडोरअन्र्तगत पर्छन् ।

करिडोरको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । पहाडी र हिमाली जिल्ला हुँदै चिनियाँ सीमा जोड्ने बेनी–जोमसोम–कोरलाको लम्बाइ १८६ किलोमिटर छ । नवलपरासी–बेनीसम्मको खण्डको लम्बाइ २४९ किलोमिटर छ । गाेरखापत्र