भ्रष्टाचारीहरु धमाधम समातिन थालेका छन् ः मन्त्री थापा

विकल्प न्यूज/बेनी
साउन १९ गते । संघिय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भ्रष्टाचारीहरु धमाधम समातिन थालेको बताउनुभएको छ । उहाँले भ्रष्टाचारको अन्त्यका लागि सरकारले चालेको कदम सफल उन्मुख हुन लागेको दावी समेत गर्नुभयो ।

मन्त्री थापाले भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउने अवस्था नभएको दावी समेत गर्नुभयो । भ्रष्टाचारलाई न्यूनिकरण गर्न सरकार सफल भएपछि आत्तिलिएका देशी विदेशी शक्तिकेन्द्रहरु सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्रहरु बुन्न थालेको उहाँले बताउनुभयो ।

शक्ति केन्द्रहरुको षडयन्त्रलाई चिर्दै सरकार सफलता तिर अघि बढेको मन्त्री थापाले बताउनुभयो । सरकारले अघि सारेको विकास र समृद्धिको योजनालाई विफल बनाउन शक्ति केन्द्रहरु लागेपनि कुनै पनि हालतमा सरकारलाई असफल हुननदिने उहाँले ठोकुवा गर्नुभयो । जनताको विश्वास प्रप्त गरेको सरकारलाई कुनै पनि हालतमा असफल हुन नदिने मन्त्री थापाले दावी गर्नुभयो । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले भ्रष्टाचार न्यूनिकरणका लागि सरकारले लिएको लक्ष्य सफल उन्मुख भएको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यतिखेर भ्रष्टाचारीहरुलाई धमाधम नियन्त्रण लिइ मुद्धा चलाउने काम गरेको बताउँदै मन्त्री थापाले भन्नुभयो ‘भ्रष्टाचारीहरुले अव उन्मुक्ती पाउँदैनन् ।’ भ्रष्टाचार नियन्त्रणमा सरकार कडा रुपमा प्रस्तुत भएकाले स्थानीय तहका जनप्रतिनिधि,राजनीतिक दल र कर्मचारीहरुले अभियानलाई साथ दिन उहाँले अनुरोध समेत गर्नुभयो ।

जनताको आशा र भरोसाको रुपमा वर्तमान सरकार भएकाले जनतालाई आशा दिलाउने गरि सरकारका कामकारवाहीहरु अगाडी बढेको उहाँको भनाई थियो ।  मन्त्री थापाले सरकारका कामकारवाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्रीले मन्त्री सँग र मन्त्रीले सचिवहरु सँग कार्यसम्पादन सम्झौता गर्ने नीति लिएको उहाँको भनाई थियो । संघिय सरकारले अघि सारेको लक्ष्यलाई पुरा गर्ने स्थानीय सरकारको दायित्व भएकाले प्रभावकारी रुपमा स्थानीय सरकारले काम गर्नुपर्ने उहाँको भनाई छ ।

स्थानीय तहमा भएका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न जनप्रतिनिधिहरु सचेत भएर लाग्नुपर्ने उहाँले बताउनुभयो । भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने उहाँले बताउनुभयो ।
ग्ण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशले ल्याएको नीति तथा कार्यक्रमालाई स्थानीय सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले स्थानीय तहमा पठाएका योजनालाई अपनत्व ग्रहण गरेर सफल रुपमा कार्यन्वनय गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरु लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । यसैगरी प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापाले चालु आर्थिक वर्षमा सरकारले ल्याएको नीति कार्यक्रम र बजेट जनमुखी भएको बताउँदै कार्यन्वयनमा जनप्रतिनिधि,राजनीतिक दल र कर्मचारीहरुले कुशलता प्रदर्शन गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रम संविधानसभाका सदस्यहरु गोविन्द पौडेल,नबराज शर्मा,रेशम बहादुर बानियाँ,प्रदेश सांसद विनोद केसी, नेकपाका कार्यालय सदस्य बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले लगायतले स्थानीय तहलाई सफल बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । उद्घाटन कार्यक्रममा राजमोका जिल्ला अध्यक्ष छवि विश्वकर्मा,नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले सभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा जिसस सदस्य शेरबहादुर केसीले स्वागत र जिसस अधिकृत अर्जुन शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।