असार २० गते । (बझाङ) — खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै (सम्याउँदै) थिए । कोही बेर्ना उखेल्दै थिए ।
बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी (रोपाहार महिला) हरू धान रोप्दै थिए । अगासे जिउलाको रौनक उत्सवमय थियो ।
दिउँसो १२ बजेतिर एकाएक खेतमा आउने कुलो सुक्यो । ‘कुलो भाँचिए’ पछि रोपाइँमा खटिएकाहरूको दौडादौड चल्यो । ‘कुलो बिग्रेको अनुमानमा किसानहरू रोपाइँ छाडेर बनाउन दौडिए,’ पाटादेवल कोसेडी खेतका दाने आग्रीले भने, ‘केटाकेटीले कुलो भाँचे होला भन्ने ठानेर फर्काउन गएका थियौं, त्यहाँ त २ वटा डोजर लगाएर कुलो ध्वस्त बनाइसकिएको रहेछ ।’
डोजरले सिँचाइ कुलो मात्र भत्काएन । २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरिसकेको देखेपछि एकपटक आफू ‘पागलजस्तै भएको’ उनले बताए । ‘एक्कासि विध्वंस देख्दा मेरो होसहवासउड्यो, रिंगटा लागेजस्तो भयो, म त त्यहीँ थचक्क बसें,’ उनले भने । डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ । भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ । रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।
दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए । ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’ उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए । गाउँ नै आतंकित भएको छ ।’
जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए । डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए । ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए । धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ । धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ ।’
लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’ तर्क गरे । ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं । असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’ उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो ।’
उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं । ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’ उनले भने ।