विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था

विकल्प न्युज
म्याग्दी , असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो ।

गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्थितका विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

‘महिनावारीको समयमा छात्राहरु विद्यालय अनुपस्थित हुने समस्याले उनिहरुको पढाईमा ठुलो असर पर्ने गरेको छ,अध्यक्ष पुनले भन्नुभयो ।’ ‘महिनावारी भएकै कारण स्कुल नआउने समस्याको न्युनिकरण गर्ने उद्धेश्यले छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।’

आधाभुत कक्षा आठ देखी कक्षा दश सम्मका ६ सय १४ जना किशोरीहरु मध्ये ५ सय १४ जनालाई सेनेटरी प्याड उपलब्ध गराइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । बाँकी छात्राहरुलाई छिट्टै सेनेटरी प्याड उपलब्ध गराइने अध्यक्ष पुनको भनाई छ ।