ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
जेठ ७ गते । रायखोर/ देशभरका सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदो छ । शैक्षिक गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम तिव्र छ । तर जिल्लाको एक अति दुर्गम गाउँको एक विद्यालय भने संस्थागत विद्यालय भन्दा कुनै कम छैन । शैक्षिक गुणस्तर र व्यवस्थापनका हिसाबले उक्त विद्यालय अब्बल छ ।
विद्यालयका प्रत्येक कोठा चिटिक्क पारिएको छ । कोठाका भित्तामा टाँसिएका सन्देशमूलक विभिन्न शैक्षिक सामग्री देखिन्छन् । विद्यालय पोशाकमा सजिएका बालबालिका ।अनुशासित विद्यार्थी । गुणस्तरीय पठनपाठन । रघुगंगा गाउँपालिका ६ को अति दुर्गम वस्ती राहेखोर स्थित राहेखोर आधारभूत विद्यालयलाई चिनाउने यि माध्यम बनेका छन् । कमजोर व्यवस्थापनका कारण सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्किएका समाचार आइरहेका समयमा यो दुर्गम गाउँको सुखद समाचार हो । स्थानीयवासीको सक्रियता र शिक्षिकाहरुको लगनशिलताका कारण यो संभव भएको हो । विद्यालयमा पाँचजना शिक्षिकाहरु हुनुहुन्छ । सवैजना आ–आफ्नो काममा जिम्मेवार छन् ।
कक्षा पाँच सम्म पठनपाठन हुने विद्यालयको शैक्षिक गुणस्तर अब्बल छ । ‘सवै शिक्षिाकाहरु लगनशिल र कर्तव्यनिष्ठ हुनुहुन्छ ।’ ‘आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्भाह गर्नुभएको छ विद्यालयकी प्रधानाध्यापक बेलमाया पुनले भन्नुभयो, ‘समुदायको जागरुकता र शिक्षिकाहरुको लगनशिलताले नै विद्यालयलाई राम्रो बनाउन मद्दत पुगेको छ ।’ विद्यालयलाई आर्थिक सहयोग जुटाउन गाउँका आमा समुह पनि सक्रिय छन् । रोजगारीका लागि विदेश पुगेका युवाहरुले विद्यालयका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।विद्यालयमा ४२ जना विद्यार्थी अध्ययनरत रहेका छन। ‘एकजना बालशिक्षिका र विद्यालय सहयोगीको तलब गाउँले जुटाउनुपर्दछ’, प्रअ पुनले भन्नुभयो, ‘मासिक रुपमा गाउँलेले चन्दा सहयोग जुटाएर तलब दिने गरेका छौं ।’ विद्यालय सञ्चालनमा अभिभावकले सक्दो सघाउने गरेको उहाँले बताउनुभयो ।रोजगारीका शिलशिलामा विदेशमा पुगेका राहेखोरवासीहरुले विद्यालयलाई सहयोग उपलब्ध गराउने गरेको प्रअ पुनले बताउनुभयो । सानो गाउँ छ अर्को विद्यालय ३ घण्टाको दुरीमा पर्दछ प्रअ पुनले भन्नुभयो ‘साना साना बालबालिका पठाउन सम्भव छैन सकिनसकी यहीँ विद्यालय चलाउनु परेको छ ।’ सरकारी निकायको सहयोग प्राप्त भएमा विद्यालय चलाउन हामीलाई थप हौसला मिल्ने थियो उहाँले भन्नुभयो । विद्यालयमा अध्ययन गर्न झण्डै अढाइ घण्टा टाढाबाट समेत विद्यार्थी आउँछन। । विद्यालयले बेलाबेलामा अभिभावकको भेला डाकेर सुधारका योजना बनाउने र प्रशिक्षणको समेत व्यवस्था गर्दै आएको शिक्षिका शोभा पुर्जाले बताउनुभयो । कमजोर विद्यार्थीहरुलाई माथि उठाउन अभिभावक र शिक्षिकाहरु बसेर छलफल गर्ने गरिएको उहाँले बताउनुभयो । ‘शैक्षिक गुणस्तर सुधारका लागि नियमित जसो अभिभावकहरु सँग छलफल गर्दछौं – शिक्षिका लालकुमारी पुनले भन्नुभयो ।’
‘समय सयममा हुने अभिभावकहरुको भेलामा उहाँहरुले सुझाब दिनुहुन्छ । सुझावलाई शिक्षिकाहरुले तत्कालै योजना बनाएर कार्यान्वयनमा लगिहाल्नुहुन्छ’, प्रअ पुनले भन्नुभयो, ‘गाउँ दुर्गम भए पनि विद्यालय उत्कृष्ट बनाउन हामी सवैजना प्रयासरत छौं ।’ गाउँमा विद्युत नपुगेकाले विद्यालयमा कम्पुटर चलाउन सहजताका लागि समाजसेवी महाविर पुनको पहलमा सोलार जडान गरिएको छ ।
गाउँमा ५ कक्षासम्म अध्ययन गरेपछि दुइघण्टा यात्रा गरेर पाखापानी गाउँमा रहेको अर्को विद्यालयमा विद्यार्थीहरु पढ्न जान्छन् । साना साना विद्यार्थीहरुका लागि गाउँदेखि टाढा रहेको मुलपानी वस्तीमा बालशिक्षा कक्षा पनि सञ्चालन गरिएको छ ।बालकक्षाको शिक्षा पुरा गरेपछि बालबालिकाहरु यस विद्यालयमा पढ्नका लागि आउँछन् । विद्यालय अनुगमनमा पुग्नु भएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भबवहादुर भण्डारीले विद्यालयको व्यवस्थापन देखेर आफू प्रभावित भएको बताउनुभयो । दुर्गममा पनि यस्तो विद्यालय रहेछ उहाँले भन्नुभयो ‘दुर्गम गाउँका विद्यालयको भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामाग्री सहयोगका लागि गाउँपालिकाले आवश्यक योजना बनाउँछ ।’ गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार पहिलो प्राथमिकतामा राखेका छौं ’ – उहाँले भन्नुभयो ।
स्थानीयवासीहरुको लगनशिलता र शिक्षिकाहरुको परिश्रमका कारण नमुना बनेको विद्यालयलाई प्रोत्साहन स्वरुप गाउँपालिकाले मासिक रुपमा चारहजार रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । दुर्गममा पनि यस्तो नमुना विद्यालय देखेर आफु अचम्मीत भएको अधिकृत थापाले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएका बालबालिकाको सहयोगका लागि भनेर स्थानीय सामाजसेवी बिरबहादुर पुनले आफ्नो स्वर्गीय बुबाआमाको स्मृतिमा एकलाख रुपियाँ बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर पुनले बताउनुभयो ।
दुर्गमको सानो गाउँ छ विद्यालय चलाउन निकै कठिन छ व्यवस्थापन समितिका अध्यक्ष पुनले भन्नुभयो, ‘भौतिक पूर्वाधार र शिक्षकको अभाव हामीलाई छ ।’ पठनपाठन राम्रो भएपनि गाउँबाट सहरमा बसाईसराईले गर्दा विद्यार्थी संख्या घट्दै गएको उहाँले बताउनुभयो ।