नयाँ अभ्यासको सुरुवात ः रघुगंगामा टुक्रे योजना कटौती

विकल्प न्यूज/बेनी
जेठ ६ गते । तस्विर
योजना छनौंटमा शहभागी भएका गाउँपालिकाको दुर्गम ७ नम्बर वडा चिमखोलावासीहरु । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी

जिल्लाको रघुगंगा गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६÷०७७ का लागि एक वडा एक गौरबका योजना छनौट गर्न थालेको छ । टुक्रे योजनालाई निरुत्साहित गर्दै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन वडावासीहरुसँगको छलफलबाट न्यूनतम २५ लाख रुपियाँ बराबरको गौरबको योजना छनौंट गर्न सुरु गरेको हो ।

वडा स्तरमा जनशहभागिता जुटाई आगमी आर्थिक वर्षका लागि योजना तर्जुमा सुरु गर्ने रघुगंगा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बैशाख २९ गते आइतवार वडा नम्बर ५ झिँबाट योजना तर्जुमा सुरु गरेको गाउँपालिकाले ६ पाखापानी,७ चिमखोला र ८ कुइनेमंगलेमा गौरबको योजना छनौंट गरिसकेको छ ।वडा नम्बर ५ झिँले २५ लाख रुपियाँ बराबरको एउटा गौरबको योजना छनौंट गरेको वडा अध्यक्ष मनबहादुर शेरपुन्जाले जानकारी दिनुभयो । टुक्रे योजनालाई निरुत्साहित गर्दै आगमी वर्ष देखि न्यूनतम पाँचलाख रुपियाँ भन्दा माथिका योजना छनौंटलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

यसै गरी ६ नम्बर वडा पाखापानीले दुर्गम रायखोरलाई सडक सञ्जाल सँग जोड्न कोट गाउँ – रायखोर सडकलाई गौरबको योजनामा समावेश गरेको छ । गाउँपालिकाकै विकट वडा कुइनेमंगलेले बाढीले बगाएको विद्यालयको पुनर्निमाण गर्न नयाँ भवन बनाउन गौरबको योजना छनौंट गरेको वडा अध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

यस्तै ७ नम्बर वडा चिमखोलाले सडकलाई पहिलो प्राथमिकतामा राखेर योजना छनौंट गरेको छ । दग्नाम – दर्मिजा चिमखोला सडक निर्माणका लागि गौरबको योजना छनौंट गरेको वडा अध्यक्ष देउप्रसाद पुनले बताउनुभयो ।

प्रत्येक वडालाई पचास लाख रुपियाँ बराबरको बजेट सिलिङ उपलब्ध गराएको गाउँपालिकाले कम्तीमा पच्चिस लाख रुपियाँ सम्मका गौरबका योजना वडाले छनौंट गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । जनशहभागितामा आधारित योजना तर्जुमालाई गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो ।

टुक्रे योजना हुँदा उपभोक्ता समितिमा वस्ने उपभोक्ताको समस्या, योजना कार्यान्वयमा चुनौती र आशातित उपलब्धी हाँसिल नभएकाले आगमी वर्ष देखि टुक्रे योजना सकेसम्म कम गर्ने गाउँपालिकाले नीति लिएको अधिकृत थापाले बताउनुभयो । गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले ठूला प्रकृतिका योजना बनाउँदा कार्यान्वयनमा सहजता हुनुका साथै बजेट दुरुपयोग हुने खतरा पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।

चालु आर्थिक वर्षमा दुइसय ६४ योजना छनौंट भएका थिए । साना साना प्रकृतिका योजनामा बजेट बाड्दा प्रभावकारी नभएकाले आगमी वर्षका लागि कम्तीमा पाँचलाख रुपियाँ भन्दा तलका योजना नबनाउन वडालाई निर्देशन दिएका छौं अध्यक्ष भण्डारीले भन्नुभयो,‘आगमी वर्षका लागि प्रत्येक वडामा कमसेकम एकवटा गौरबको योजना बनाउने नीति बनाएका छौं ।’