विकल्प न्यूज/बेनी
बैशाख १३ गते । जिर्ण अवस्थमा रहेको मालढुङ्गा – बेनी सडक निर्माणका लागि १० करोड रुपियाँ बजेट विनियोजन भएको छ ।
बहुवर्षीय योजना अन्तर्गत चालु आर्थिक वर्षमा सडक विस्तारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनी – जोमसोम कोरला सडक आयोजनाले कार्यान्वयन गर्ने गरी उक्त रकम विनियोजन गरेको हो ।
सडक निर्माणका लागि बजेट विनियोजन भए सँगै कालिगण्डकी कोरिडोरको रुट निश्चित भएको छ । यस अघि कोरिडोर पर्वत हुँदै जाने वा बागलुङ भएर जाने भन्ने अन्यौल थियो ।
बजेट विनियोजन भएको भन्ने जानकारी आएको छ बेनी –जोमसोम कोराला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले भन्नुभयो,‘सडक निर्माणका लागि चाँढै नै ठेक्का प्रक्रिया अगाडि बढ्छ।’ पत्रमा उल्लेख भएकोलाई आधार मान्दा कालिगण्डकी कोरिडोर मालढुङ्गा हुँदै पर्वत भएर बेनी जोडिन्छ उहाँले भन्नुभयो । मालढुङ्गा – बेनी १३ किलोमिटर सडक निर्माणका लागि यस अघि डिपिआर तयार भइसकेको छ । कोरला सडकको यो खण्ड निर्माणका लागि करिब एक अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।
जिर्ण अवस्थामा रहेको सडक निर्माणका लागि चालु आर्थिक वर्षमा योजना अगाडि बढाउने गरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा बजेट विनियोजन भएको उहाँका निजी सचिव उदविर नेपालीले जानकारी दिनुभयो।
कालिगण्डकी कोरिडोरलाई मालढुङ्गा देखि पर्वतको जलजला गाउँपालिका हुँदै बेनी जोड्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, पर्वतका सांसद पदम गिरी,गण्डकी प्रदेशसभाका सभामुख नेत्रप्रसाद अधिकारीले पहल गर्नुभएको हो ।