जलजलामा ७ सयले भरे बेरोजगारको आवेदन,चैत मसान्त सम्म भर्न सकिने

विकल्प न्यूज/जलजला
चैत २६ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकामा सात सय २२ जनाले बेरोजगार आवेदन फारम भरेका छन् । गाउँपालिकाका ९ वटै वडामा बेरोजगारीको सूची दर्ताका लागि आवेदन फारम भर्ने सुविधा उपलब्ध गराएको थियो ।

फारम नभरेकाहरुले अझै आफ्नो वडा कार्यालयमा सम्पर्क गरेर फारम भर्न गाउँपालिकाले अनुरोध गरेको छ । सरकारले चैत महिनाभित्र बेरोजगारीहरुले आफ्नो वडा कार्यालयमा पुगेर बेरोजगार आवेदन भर्न आह्वान गरेको थियो ।

सोमबार सम्म वडा नम्बर १ वासखर्कमा २०, ३ माझफाँटमा ७० ४ मल्लाजमा ८०,४ मल्लाज फटकेढुङ्गामा २५,५ लेखफाँटमा ५०,६ सालिजामा १००,७ धाइरिङमा १२७,८ नाग्लिवाङमा १५० र ९ बनौंमा १०० जनाले बेरोजगार सूचिमा सूचिकृतका लागि आवदेन भरेको गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अझै चैत मसान्त सम्म बेरोजगार फारम भर्न पाइन्छ । सरकारले रोजगार संयोजक छनौट गरी सवै स्थानीय तहमा बेरोजगारीहरुको सूचि तयार पार्न थालेको हो ।

बेरोजगार दर्ताको लागि एउटा फारम भर्नुपर्छ । सरकारले तयार पारेको फारम सबै वडा कार्यालयमा पाइन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन पेश गर्नुपर्ने हुन्छ । बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्ने दिनुपर्ने हुन्छ ।

रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसैअनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिन यो कार्यक्रम ल्याइएको हो ।

स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक यस कार्यक्रममा समावेश हुन पाउनेछन । निवेदको दक्षता, क्षमता र सीपको आधारमा रोजगार सेवा केन्द्रले नै रोजगारीका लागि सिफारिस गर्नेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि सरकारले कृषि, पर्यटन, सडक यातायात, उर्जा, वन तथा वातावरणदेखि राष्ट्रिय गौरवका आयोजना, उद्योग लगायतका क्षेत्र पहिचान गरेको छ । सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिनेछ